नेप्सेमा नयाँ कीर्तिमान, परिसूचक २८ सय बिन्दुुमाथि

जेष्ठ ९, २०७८ | काठमाडौं

कारोबारको पहिलो दिन आइतबार धितोपत्र बजारमा नयाँ कीर्तिमान कायम भएको छ । सेयर कारोबार नेप्से परिसूचक आज एक दशमलव १८ प्रतिशतले उकालो लागेर २ हजार ८ सय २० बिन्दुमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो । 

यसअघि, जेठ ४ गते नेप्से परिसूचक सर्वाधिक २ हजार ७ सय ९३ दशमलव ८९ बिन्दुमा पुगेको थियो । नेप्सेसँगै कारोबार रकम पनि बढेर ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँ पुगेको छ । यही जेठ ५ मा सेयर बजारमा हालसम्मकै उच्च ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

निषेधाज्ञाको कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएपछि सेयर बजारमा सकारात्मक प्रभाव पर्न थालेको छ । आफू रहेकै स्थानबाट अनलाइनमार्फत सेयर कारोबार गर्न सक्ने भएकाले निषेधाज्ञाको समयमा पनि बजारमा सकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन् ।

नेप्सेमा आज कुल २ सय २० कम्पनीका एक लाख २६ हजार १ सय २४ कारोबारबाट २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर किनबेच भए । प्रतिनिधिसभा विघटन भएसँगै राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्ने आकलन गरिएको थियो । 

आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करीब नेप्से परिसूचक ५० अंकले घटेको थियो । त्यसपछि सम्हालिएको परिसूचक ३२ अंकले बढेर २ हजार ८ सय २० मा पुगेको हो । 

नेप्सेमा कारोबारमा आएका १३ मध्ये १० वटा उपसमूहको सूचक उकालो लागेको छ । सबैभन्दा बढी विकास बैंकको ७ दशमलव ५४ र वित्त उपसमूहको सूचक ६ दशमलव ७६ प्रतिशतले बढेको छ । 

होटल तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त उपसमूहको सूचक भने ओरालो लागेको छ । कारोबारमा आएका मध्ये १६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारको पहिलो दिन नेप्सेमा आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४१ करोड ८६ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

२०७५ कात्तिकबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका परिसूचक क्रमिक सुधार भएको छ । हालसम्म अनलाईन मार्फत कारोबारका लागि ६ लाख भन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


प्रतिक्रिया