दुधौलीमा स्वीस सरकारको सहयोगमा सिंचाइ सुविधा

जेष्ठ १२, २०७८ | सिन्धुली

सिन्धुलीको दुधौली नगरपालिका–११ को टाँडीमा स्वीस सरकारको आर्थिक सहयोगमा पत्रिङ्गा सिंचाइ आयोजना निर्माणपछि ८५ बिगाहा जमिनमा सिंचाई सुविधा पुगेको छ । स्वीस सरकारको ११ करोड रुपैयाँ आर्थिक सहयोगमा सिंचाइ डिभिजन कार्यालयले २०६९ सालदेखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो । 

नेपाल सरकारको मझौला सिंचाइ आयोजना अन्तर्गत नगरपालिको पत्रिङ्गामा ९ वर्ष लगाएर सिंचाइ आयोजना सम्पन्न भएको वडाध्यक्ष कुमार लामाले बताउनुभयो । आयोजना निर्माणसँगै अब किसानका खेत खेतमा बाह्रै महिना सिंचाइ सुविधा पुगेको छ । 

मध्यमाञ्चल सिंचाइ विकास निर्देशनालयले स्थानीय उपभोक्ता समितिलाई कुलो हस्तान्तरण गरेपछि ४ सय ४५ घर परिवारका किसानले हिउँदमा बाँझै रहने खेतमा तरकारी तथा गहुँ खेती थालेका छन् । उपभोक्ता समितिका अध्यक्ष यज्ञबहादुर कार्कीका अनुसार कुलो निर्माणपछि किसानले कमला नदीको पानी ल्याएर खेतमा सिंचाइ गर्ने सुविधा पाएका छन् ।

नगरपालिकाको कमला खोच क्षेत्रलाई अन्न भण्डार मानिन्छ । नगरपालिकाका अनुसार कमला खोचमा अझै ५० प्रतिशत जमिन आकाशे पानीका भरमा छन् । कमला नदीबाट करिडोर निर्माणसँगै पानीको नहर समेत बनाएर बाँझो जमिन सिञ्चित गर्ने योजना सहित गुरुयोजना तयार गरी काम सुरु गर्ने प्रकृयामा रहेको नगर प्रमुख घनश्याम राउतले बताउनुभयो ।


प्रतिक्रिया