नेप्सेले २९ सय नाघ्यो, १७ अर्ब २७ करोडको सेयर कारोबार

जेष्ठ २३, २०७८ | काठमाडौं

आइतबार सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सेयर कारोबार मापक नेप्से ५०.१३ अंकले बढेर २ हजार ९ सय ६.९१ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.७५ प्रतिशतको वृद्धि हो । आइतबारको नेप्से हालसम्मकै उच्च हो ।

यसअघि गत बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ५६.७६ विन्दुमा पुगेर बन्द भएको थियो । सो दिन कारोबारमा आएकामध्ये बैकिङ, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, लगानी र सामूहिक लगानी कोषलगायत उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि बजारले नयाँ रेकर्ड बनाएको छ । आइतबार बजारमा १ लाख ७१ हजार वटा कारोबारबाट २ सय १८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १७ अर्ब २७ करोड रुपैयाँ बराकरको सेयर कारोबार भएको छ । कारोबार रकम पनि हालसम्मकै उच्च हो । यसअघि गत सोमबार १७ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार बजार खुल्दा २ हजार ८ सय ८४.०७ विन्दुदेखि खुलेको बजार २ हजार ९ सय २०.२१ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजार केही घटेको थियो । गिरावटको क्रम निकै छोटो समय चल्यो । त्यसपछि पुरानै लयमा उकालो लागेको बजार अन्तत: ५० अंकले बढेर बन्द भयो । नेप्सेमा उच्च वृद्धि भएपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर ४० खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो । सो दिन सेन्सेटिभ परिसूचक पनि ७.८८ अंक बढेर करिब ५ सय २१ विन्दुमा पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । आइतबार फ्लोट परिसूचक पनि २.०९ प्रतिशतले बढेको छ ।

आइतबार कारोबारमा आएकामध्ये लगानी उपसमूहको परिसूचक सवैभन्दा बढी ३.९७ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ३.६६ प्रतिशत बढे । यस्तै, ‘अन्य’ उपसमूहको परिसूचक ३.०३, विकास बैंकको २.३८, वित्त कम्पनीको १.४३, लघुवित्तको ०.०८ र सामूहिक लगानी कोष उपसमूहको परिसूचक १.६ प्रतिशतले उकालो लागे ।


प्रतिक्रिया