नेप्सेमा अर्को कीर्तिमान, साढे १९ अर्बको कारोबार

जेष्ठ ३०, २०७८ | काठमाडौं

कारोबारको पहिलो दिन आज (आइतबार) धितोपत्र बजारमा नयाँ कीर्तिमान कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ३८ दशमलव ३२ अंकले बढेर २ हजार ८ सय ८३ दशमलव १० बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो । 

पछिल्ला केही सातायता नेप्सेले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । यस अघि नेप्सेले गत मंगलबार नयाँ रेकर्ड बनाएको थियो । सो दिन नेप्से २ हजार ९ सय ६० दशमलव १४ बिन्दुमा पुगेर बन्द भएको थियो ।

आज बजारमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । नेप्सेमा आज कुल २ सय २० कम्पनीको १ लाख ८२ हजार ४ सय ३० कारोबारबाट ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको भएको छ । यो हालसम्म कै उच्च कारोबार रकम हो । 

यसअघि जेठ २३ मा १७ अर्ब २७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ४० खर्ब रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज कारोबारमा आएका १३ मध्ये ७ वटा उपसमूहको सूचक उकालो लागेको छ । सबैभन्दा बढी विकास बैंकको ८ दशमलव २४, वित्तको ७ दशमलव २४ र जलविद्युत उपसमूहको ६ दशमलव १ अंकले बढेको छ । 

पहिलो कारोबारको दिन नेप्सेमा आज ३ दर्जन भन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अरुण भ्याली जलविद्युत विकास कम्पनीको सबै भन्दा बढी ७२ करो २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  


प्रतिक्रिया