कोरोना विरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालक आन्दोलित

जेष्ठ ३०, २०७८ | काठमाडौं

सरकारले आफूहरुलाई कोरोना भाइरस विरुद्धको खोप नलगाइदिएको भन्दै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरु आन्दोलित भएका छन् । 

कोरोना महामारीको जोखिमका बीच अग्रपंक्तिमा खटिएर पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएपनि आफूहरुलाई सरकारले खोप उपलब्ध नगराएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । ट्यांकर चालकहरु आन्दोलित भएपछि बागमती प्रदेशमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । 

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा बागमती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी रोकिएको छ । कोरोना भाइरस संक्रमण कारण चालक तथा तिनका परिवारले ज्यानै गुमाउनु पर्ने अवस्था सिर्जना हुँदा समेत आफूहरुले खोप नपाएको उनीहरुको गुनासो छ । 

पेट्रोल लोड गर्न भारतको बरौनीसम्म पुग्नुपर्ने हुँदा जोखिम बढेको भन्दै आफूहरुलाई खोप लगाईदिन थानकोट डिपो, आयल निगमलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको संघका अध्यक्ष ईश्वर लामाले बताउनुभयो । 

आफूहरुको जीवन रक्षाको प्रत्याभूति गरी खोप लगाउने व्यवस्था नगरेसम्म पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने उहाँले बताउनुभयो । ट्यांकर चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानी समेत अवरुद्ध भएको छ ।

चालकलाई खोपको व्यवस्था गरिदिन डिपोमा गरेको आग्रह निगमको मुख्य कार्यालय र स्वास्थ्य मन्त्रालयमा पठाएको बताएपनि तत्काल खोप उपलब्ध हुने अवस्था नरहेको जानकारी आएको संघले जनाएको छ । 


प्रतिक्रिया