नेप्से उच्च अंकले बढ्यो, कारोबार रकम घट्यो

असार ८, २०७८ | काठमाडौं

कारोबारको दुई दिन लगातार ओरालो लागेको धितोपत्र बजार आज (मंगलबार) उच्च अंकले वृद्धि भएको छ । धितोपत्र बजारमा आज कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा नेप्से सूचक उच्च अंकले बढेको हो । 

सेयर कारोबार मापक नेप्स परिसूचक आज ७९ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय १३ दशमलव ८४ बिन्दुमा पुगेको छ । नेप्से उच्च अंकले उकालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँ भन्दा बढी गिरावट आएको छ । 

हिजो (सोमबार) ७१ दशमलव ६ अंकले घटेको नेप्सेमा ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

नेप्सेमा आज कुल २ सय २५ कम्पनीका एक लाख १२ हजार ५० कारोबारबाट एक करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, १० अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा आज कारोबारमा आएका सबै उपसमूहको सूचक उकालो लाग्दा समग्र बजारमा सुधार देखिएको हो । सबैभन्दा विकास बैंक, जलविद्युत र वित्त उपसमूहको सूचक ५ प्रतिशत भन्दा बढीले बढेको छ । 

कारोबारको तेस्रो दिन नेप्सेमा आज नेपाल पुनर्बीमा कम्पनी सबै भन्दा बढी एक अर्ब ४९ करोड ३२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 


प्रतिक्रिया