दुई ठूला जलविद्युत परियोजनाका लागि वैदेशिक लगानी स्वीकृत

असार ८, २०७८ | काठमाडौं

लगानी बोर्डले दुई ठूला जलविद्युत परियोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बोर्डको बैठकले माथिल्लो तमोर र तल्लो मनाङ मर्स्याङदी जलविद्युत परियोजना निर्माणका लागि सो परिमाण बराबरको लगानी स्वकृति दिएको हो । 

लगानी बोर्डको ४७ औं बैठकले २८५ मेगावाटको तमोर जलाशययुक्त परियोजना र १४० मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत परियोजना निर्माणका लागि सो रकम स्वीकृत गरेको हो । दुबै आयोजना चिनियाँ लगानीमा बन्ने भएका हुन् । 

बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

अरुण तेस्रो जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउने निर्णय बैठकले गरेको छ । 

यस्तै, पश्चिम–सेती र एसआर–६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ । 

बैठकले संखुवासभामा निर्माण हुने ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता भारतीय कम्पनी एसजेभीएन लिमिटेडसँग गरिने समझदारीको मस्यौदा पनि स्वीकृत गरेको छ ।

यस्तै, बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो नेपाल–चीन मैत्रीपूर्ण औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन डीपीआर स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता (पीडीए) को लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया