लमजुङमा नेपाली सेनाको कृषि विज्ञान संस्थान स्थापना

लमजुङको बेंसीसहर नगरपालिका–२, बगालेगाउँमा स्थापना गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको सोमबार उद्घाटन गर्दै प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र बलाधिकृत रथी प्रभुराम शर्मा । तस्बिर : आश गुरुङ/रेडियो कान्तिपुर । 

श्रावण २६, २०७८ | लमजुङ

नेपाली सेनाले नेपालमै पहिलोपटक कृषिका माध्ययमबाट सेवानिवृत्ति सैनिक, उनका परिवार तथा अन्य नागरिकको जनजीवन उकास्ने अवधारणा भित्र्याएको छ । सेवाबाट निवृत्त हुन लागेका सैनिकलाई पहिलो प्राथामिकतामा राखेर सेनाले कृषि र पशुविज्ञान अध्यापन गराउने उद्देश्य राखेर नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरेको जनाएको छ । 

यस संस्थानमा सैनिक परिवार तथा गैरसैनिक समेतले अध्ययन गर्न पाउने छन् । बेंसीसहर नगरपालिका–२, बगालेगाउँमा स्थापना गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको सोमबार एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र बलाधिकृत रथी प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । महारथी थापाले सेवाको अन्तिम दिन आफ्नै गाउँमा निर्मित संस्थानको उद्घाटन गर्नु भएको हो । उहाँ भदौ २४ गतेदेखि अवकास हुँदैछन् ।

बगालेगाउँको ४ सय ५० रोपनी क्षेत्रफलमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ । सैनिक कल्याणकारी कोषमार्फत स्थापना गरिएको सो संस्थानमा यसै वर्षदेखि बीएससीएजीको पढाई सुरु भएको छ । नेपाली सेनाको लमजुङस्थित श्रीजंग गणका गणपति जयराम थापाका अनुसार कृषितर्फ जेटीए र पशुतर्फ लाइभस्टोक प्रोडक्सन/एनिमल हेल्थतर्फ १८ महिने तालिमको दोस्रो ब्याच अहिले सञ्चालनमा छ । यसमा ८० जना छन् । चालू शैक्षिक सत्रदेखि बीएससीएजीको पढाई हुने र यसको सुरुवात सोमबारदेखि सुरु भएको उहाँले बताउनुभयो । कृषि र पशुपालनका माध्ययमबाट सेवा निवृत्त हुन लागेका सैनिक, सैनिक परिवार र गैरसैनिकलाई सैद्धान्तिक र प्रयोगात्मक तवरबाट अध्ययापन गराउने उहाँले बताउनुभयो ।

प्रधान सेनापति थापाले सातै प्रदेशसहित नेपालको १० स्थानमा कृषि विज्ञान संस्थान स्थापना गर्ने नीति अनुरुप नेपाली सेना अघि बढेको बताउनुभयो । ‘कृषिमा अनुसन्धान, विकास र बिस्तार गर्न सक्ने दक्ष जनशक्ति हामी उत्पादन गर्छौं । कृषि उपजमा आत्मनिर्भर हुने नेपाल सरकारको नीतिलाई सघाउँछौं । सरकारको नीति कार्यान्वयन गर्ने नेपाली सेनाको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘अब नेपाली सेनाले कृषिमा क्रान्ति गर्छ । यसको सुरुवात भइसक्यो ।’

उहाँले नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई स्तरोन्नति गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन अनुमति लिएर संस्थान स्थापना गरिएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयले तोकेको मापदण्ड अनुरुप शैक्षिक र भौतिक पूर्वाधारको विकास गरिएको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नेपाल कृषि प्रधान देश भनिए पनि कृषिलाई राम्रोसंग पढाउन नसकिएको स्वीकार्नुभयो । प्रादेशिक रुपमा यस प्रकारको संस्थान संचालन गर्ने नीति सेनाले लिएकोले कृषिमा क्रान्ति सम्भव रहेको उहाँले बताउनुभयो । बलाधिकृत रथी शर्माका अनुसार सरकारको राष्ट्रिय सुरक्षा नीति अनुरुप खाद्य सुरक्षाको नीति पनि हो । खाद्य सुरक्षाका लागि नेपाली सेनाले कृषि अध्यापन थालेको उहाँले बताउनुभयो ।

नेपाली सेनाले करीब २० करोड रुपैयाँ लागतमा आवश्यक पूर्वाधार तयार पारेको छ । संस्थानका प्राचार्य श्याम घिमिरेका अनुसार शिक्षणसँगै संस्थानको जग्गामा कृषिकार्य सुरुवात गरिएको छ । दोस्रो फेजमा पशुपालन गरिने उहाँले जानकारी दिनुभयो । क्याम्पसका सहायक प्राचार्य विनोद घिमिरेले इजरायली कृषि प्रविधि भित्र्याएर कृषिकार्य अघि बढाइने बताउनुभयो । 

करीब ९ बर्ष इजरायलमा कृषि अध्यापन गरी दुराडााडामा आराभा नेपाल स्थापना गरी ‘मोर्डन एग्रीकल्चर’ सुरु गरेका उनले इजरायल, जापान तथा युरोपेली मुलुकको कृषि प्रविधि भित्र्याइने बताउनुभयो । सेवा निवृत्ति सैनिकलाई क्लष्टर छुट्याएर समूह गठन गरी तरकारी तथा पशुपालनमा अग्रसर गराउने योजना रहेको उहाँको भनाई छ ।


प्रतिक्रिया