माथिल्लो छ्याङ्गदी जलविद्युत आयोजनाले असोजबाट उत्पादन थाल्ने

लमजुङको दोर्दी गाउँपालिका–७ र ८ बीचको छ्याङ्गदीखोला र घट्टेखोलाको बीचमा निर्माण गरिएको ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह । तस्बिर : रेडियो कान्तिपुर । 

भाद्र २६, २०७८ | लमजुङ

लमजुङको दोर्दीस्थित छ्याङ्गदी खोलामा ४ मेगावाटको माथिल्लो छ्याङ्गदी खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । साउनमै निर्माण सकेको आयोजनाले असोज १ गतेबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ । 

विद्युत उत्पादनको लागि आन्तरिक परीक्षण सकिएको प्रवर्धक छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले जनाएको छ । यसअघि छ्याङ्गदी खोलाकै तल्लो क्षेत्रमा प्रवर्धक छ्याङ्गदी हाइड्रोपावरले २ मेगावाटको छन्दीखोला साना जलविद्युत आयोजना सञ्चालनमा ल्याईसकेको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाका अनुसार विद्युत प्राधिकरणले साउन ५ गते व्यावसायीक उत्पादन (आरसीओडी) को समय दिएको थियो । 

७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा जोड्नुपर्नेमा प्राधिकरणले मध्य मस्र्याङ्दीमा तार र ट्रान्सफर्मरको क्षमता बढाउन नसक्दा उदिपुरस्थित सव–स्टेशनमा जोड्ने तयारी गरिएको छ । यसका लागि नियमन आयोगको स्वीकृति चाहिने थापाले बताउनुभयो । सो स्वीकृतिको आधारमा प्राधिकरणले ‘लाइन कनेक्सन’ गर्छ । 

उत्पादित विद्युतलाई सञ्चालनमा रहेको छ्याङ्गदी खोला साना जलविद्युत आयोजनाको सव–स्टेशनको स्वीच यार्डमा जोडिने छ । सो सव–स्टेशनबाट प्रवर्धक आफैंले उदिपुरसम्म साढे १० किलोमिटरको लामो ३३ केभीए सिंगल सर्किट यसअघि नै निर्माण गरिसकेको छ । छन्दीको स्वीचयार्डमा जोड्ने ठाउँमा थप उपकरण सहित २ छुट्टाछुटै आयोजनाको मिटरिङको व्यवस्था गरिने भएको छ । 

२०७५ कात्तिकबाट निर्माण सुरु भएको आयोजना २०७७ साउनभित्रै सक्ने लक्ष्य राखिएको थियो । कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउन र बाढी पहिरोका कारण निर्माणस्थलसम्म जाने सडक बन्द हुँदा अवधि १ वर्ष अवधि लम्बिएको छ । यसले आयोजनाको लागत १ करोड १ लाख ५३ हजार ६ सय ३५ रुपैयाँ थप भएको छ । कुल ७९ करोड ३३ लाख ४६ हजार ३ सय ६५ रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म ८० करोड ३५ लाख खर्च भइसकेको आयोजनाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) अनुसार व्यावसायिक विद्युत उत्पादन मिति (आरसीओडी) २०७८ साउन ५ तोकेको थियो । निर्धारित समय अगावै विद्युत उत्पादन गर्ने कम्पनीको योजना रहेकोमा कोरोना र बाढी पहिरोका कारण नसकिएपनि तोकिएको आरसीओडी म्याच गर्नेगरी काम गर्न सफल भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत थापाले बताउनुभयो । 

सो आयोजना प्राधिकरणको मापदण्ड अनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको थियो । विद्युत उत्पादन भएदेखि ८ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले वृद्धि हुने गरी पीपीए भएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट वार्षिक २२ दशमलव ३६ गिगावाट घण्टा विद्युत उत्पादन गरिने छ । दोर्दी गाउँपालिका–८ बन्सार र ७ फलेनीबीच भएर बग्ने छ्याङ्गदी खोलाको पानीलाई बन्सारको तिजुकुनामा बाँध बाँधेर छ्याङ्गदी र घट्टेखोलाको बीचमा निर्माण हुने विद्युत गृहमा खसालिएको छ । 

७ सय ४५ मिटर ग्रसहेड रहेको यस आयोजनामा बाँध क्षेत्र डिसेन्डरदेखि सर्ज ट्यांकसम्म २ हजार ८ सय ७४ मिटर हेडरेस र त्यसपछि पावर हाउसम्म १ हजार ३ सय ५६ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आयोजनामा २ वटा फोर्ज पेल्टन टर्बाइन २ वटा जेनेरेटर छ । इन्साइट इन्जिनियरिङ कन्सल्टले डिजाइन गरेको सो आयोजनाको सिभिलतर्फ साकुरा–पावर जेभी, हाइड्रोमेकानिकल तर्फ क्रिमहाइडल र इलेक्ट्रोमेकानिकल तर्फ मेकामिडि इन्डियाले निर्माण गरेको छ । 

आयोजनामा बैंक अफ काठमाडौं र कुमारी बैक लिमिटेडको ७५ प्रतिशत कर्जा र प्रवर्धकको स्वलगानी २५ प्रतिशत रहेको छ । यसमा तल्लो छन्दीखोला साना जलविद्युत आयोजनाको विद्युत बिक्रीबाट आएको आम्दानी, कम्पनीको खातामा भएको रकम र बाँकी स्वपूँजी कम्पनीले जारी गर्न लागेको हकप्रद (राइट शेयर) बाट संकलन गरी भुक्तानी कार्य अघि बढाइएको थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया