नेपाल–बंगलादेशबीच विद्युत व्यापारका लागि सहमति

भाद्र २९, २०७८ | काठमाडौं

नेपाल–बंगलादेशबीच विद्युत व्यापारका लागि सहमति भएको छ । नेपाल–बंगलादेशको ऊर्जा सचिव स्तरीय समितिको भुर्चअल बैठकले दुई देशबीच विद्युत व्यापार, नेपालको जलजिद्युत विकासमा बंगलादेशको सरकारी तथा निजी क्षेत्रको लगानी तथा दुई देशबीच अन्तरदेशीय विद्युत प्रशारण लाइन बिस्तार गर्ने बारे सहमति भएको छ । 

बैठकमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की र बंगलादेशको विद्युत ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमानको सहभागिता रहेको थियो । 

यअसघि हिजोको सहसचिव स्तरीय बैठकमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५ सय मेगावाट विद्युतको खरिदका लागि भएको प्रगति तथा नेपाल–बंगलादेशबीच नवीकरणीय ऊर्जाको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी विषयमा छलफल भएको थियो । 

दुई देशबीच हिजो भएको सहसचिव स्तरीय बैठकले गरेका सिफारिसलाई आजको बैठकले अनुमोदन गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिनुभयो । 

बैठकले दुई देशबीच विद्युत व्यापारको आवश्यक तयारीको लागि नेपालको तर्फबाट विद्युत प्राधिकरण र बंगलादेशको तर्फबाट त्यहाँको पावर डेभलपमेन्ट बोर्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

जलविद्युत क्षेत्रमा सहकार्यका लागि नेपालबाट प्रस्तावित सम्भावित ५ वटा जलविद्युत आयोजना मध्ये पहिलो चरणमा सुनकोसी–३ जलविद्युत आयोजना अगाडि बढाउन आगामी डिसेम्बर सम्ममा आयोजना स्थलको भ्रमण गर्ने सहमति भएको छ । 

दीर्घकालीन उपाय स्वरुप दुई देशबीच प्रशासण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय बैठक मार्फत सहमति जुटाई अन्तरदेशीय प्रशारण लाइन सम्बन्धी कार्य अगाडि बढाउने सहमति भएको छ । 

नवीकरणीय ऊर्जाको प्रवर्धन, सोलार प्रणाली र ऊर्जा दक्षता क्षेत्रमा नेपालको वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्र र बंगलादेशको दिगो र नवीकरणीय ऊर्जा विकास प्राधिकरणबीच प्रविधि र सीप आदान प्रदान गर्ने सम्बन्धमा सहमति भएको मन्त्रालयले जनाएको छ । 

साथै दुई देशबीच ऊर्जा क्षेत्रमा विद्यमान विशेषज्ञताका आधारमा जनशक्तिको क्षमता अभिवृद्धि गर्न, सुझाव आदानप्रदान गर्न उपयुक्त कार्यक्रम सञ्चालन गर्ने र आवश्यक अनुसार सम्झौता गर्ने सहमति समेत भएको छ । 


प्रतिक्रिया