दशैंका लागि नयाँ नोट सटही आगामी सोमबारबाट

भाद्र ३०, २०७८ | काठमाडौं

बडा दशैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आगामी सोमबारबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालय मार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जनाएको हो । 

केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको जनाएको छ । उपत्यकाका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सतही गर्न अनुरोध गरिएको छ । 

यसपटकबाट वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट समेत नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ४ गतेदेखि नै नयाँ नोट बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दशैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने अनौपचारिक सहमति भएको छ । यद्यपि, राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई अहिले नयाँ नोट सटही सुविधा दिइएको बैंकले जनाएको छ । 

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ । 

सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको माग लगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । सोही क्रममा आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् ।


प्रतिक्रिया