नेपाल आइपुग्यो भारतको निजी क्षेत्रको मालबाहक रेल

भारतको हल्दिया बन्दरगाहबाट नेपाली आयातकर्ताको मालबाहक कन्टेनर बोकेर आएको भारतको निजी क्षेत्र हिन्द टर्मिनल्सको मालबाहक रेल बुधबार बिहान वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा प्रवेश गर्दा स्वागत गरिंदै । तस्बिर : शंकर आचार्य/रेडियो कान्तिपुर । 

भाद्र ३०, २०७८ | पर्सा

सिर्सिया सुक्खा बन्दरगाहमा बुधबार पहिलो पटक भारतको निजी क्षेत्रको मालबाहक रेल आईपुगेको छ । बिहान करीब सवा १० बजेको समयमा भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक बन्दरगाहमा प्रवेश गरेको हो । 

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हरियो झन्डा देखाएर सो रेललाई स्वागत गरेका थिए । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाता नजिकको हल्दिया बन्दरगाहबाट हिँडेको ४० घण्टापछि ८८ मालबाहक कन्टेनर बोकेर सो रेल नेपाल प्रवेश गरेको हो । 

सबै कन्टेनरमा नेपाली आयातकर्ताले तेश्रो मुलुकबाट आयात गरेको मालवस्तु रहेका छन् । हिन्द टर्मिनल्स प्रालिका जेनरल म्यानेजर अभिनव गुप्ताले सबै कन्टेनरमा गेडागुडी तथा खाद्यान्न लगायत वस्तुहरु रहेको जानकारी दिनुभयो । 

नेपाली आयातकर्ताको माग र आवश्यकता अनुसार तत्काललाई साताको २ पटकसम्म भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्जसम्म रेल्वे र्‍याक ल्याइने उहाँले बताउनुभयो । गुप्ताले भारतको निजी क्षेत्रको नेपाल प्रवेशले अब भारतीय रेल्वेको भगिनी संस्था कोंकरको मात्र यहाँ रहेको एकाधिकार तोडिएको बताउनुभयो ।

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले सुक्खा बन्दरगाहमा भारतको सरकारी र निजी क्षेत्रको रेलबीच प्रतिस्पर्धा भएपछि रेल्वे भाडादर सस्तो हुने बताउनुभयो ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २ महिना अघि नेपाल–भारतबीच भएको रेल्वे सर्भिस सम्झौता अनुसार, नेपाली, भारतीय वा विदेशी निजी कम्पनीले पनि मालबाहक रेल चलाउने स्वीकृति प्रदान गरेपछि भारतीय निजी कम्पनीले आफ्नो रेल ल्याएको बताउनुभयो । 

हिन्द टर्मिनल्ससंगै भारतको अन्य निजी क्षेत्रका रेल पनि नेपाल आउन इच्छुक रहेकाले आगामी दिनमा थुप्रै भारतीय निजी कम्पनीहरुको रेल यहाँसम्म आउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले भारतीय निजी क्षेत्रको रेलको नेपालमा प्रवेशले धेरै फाइदा हुने बताउनुभयो । 

‘यसले एकातिर ढुवानी सेवामा प्रतिस्पर्धा बढछ भने त्यसले ढुवानी लागत कम पनि हुन जान्छ,’ उहाँले भन्नुभयो, ‘त्यससँगै नेपाली आयात निर्यातकर्ताको अब समयको पनि बचत हुन जान्छ ।’ २०६१ सालदेखि सञ्चालनमा आएको मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सिया सुक्खा बन्दरगाहमा स्थापना कालदेखि भारतीय रेल्वको भगिनी संस्था कोंकरको रेलकै एकाधिकार थियो ।


प्रतिक्रिया