लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्छ : अर्थमन्त्री शर्मा

भाद्र ३१, २०७८ | काठमाडौं

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । कोषको ६० औं वार्षिकोत्सव समारोहलाई भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ मन्त्री शर्माले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधि मैत्री बनाई सञ्चयकर्ताको लागि सहज वातावरण सृजना गर्नुपर्ने उहाँले बताउनुभयो । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । 

हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ । सामाजिक सुरक्षा योजना अन्तर्गत कोषले सञ्चयकर्ताको लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ । 

यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख रुपैयाँ प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ । 

वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनु भन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं.२०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबही सञ्चालन गरिएको थियो ।


प्रतिक्रिया