नेप्से ७६ अंकले घट्यो, ९ अर्बको कारोबार

भाद्र ३१, २०७८ | काठमाडौं

कारोबारको अन्तिम दिन आज धितोपत्र बजार उच्च अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ७६ दशमलव ६५ अंकले घटेर २ हजार ८ सय १२ दशमलव ३८ बिन्दुमा पुगेको छ । 

दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अघिल्लो दिनको तुलनामा २ दशमलव ६५ प्रतिशतले घटेको हो । नेप्सेमा आज कुल २ सय २९ कम्पनीका एक लाख १३ हजार ८ सय ७ कारोबारबाट एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ९ अर्ब ३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । 

यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ४ अर्ब रुपैयाँले बढी हो । हिजो ४० दशमलव २६ अंकले घटेको नेप्सेमा ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

नेप्सेमा आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । सबै भन्दा बढी वित्तको ४ दशमलव ९४ र जलविद्युत उपसमूहको परिसूचक ४ दशमलव ८ प्रतिशतले घटेको छ । 


प्रतिक्रिया