धुलियाविट–भेडाबारी सडक निर्माणका लागि ठेक्का सम्झौता

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको लेकवेशी नगरपालिका–१ स्थित सडक । तस्बिर: चाँदनी/रेडियो कान्तिपुर । 

मंसिर ९, २०७८ | वीरेन्द्रनगर

मदन भण्डारी राजमार्ग अन्तर्गतको सुर्खेत धुलियाविट–भेडाबारी सडक स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सो सडकखण्डको स्तरोन्नतिका लागि कालिका के एस बेदान्सी जेभीसँग १ अर्ब ३ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता गरिसकेको छ । 

निर्देशनालयले एक अर्ब ५१ करोड रुपैयाँ बराबरको बोलपत्र आह्वान गरेको थियो । निर्देशनालयका इन्जिनियर शिव तिमिल्सिनाका अनुसार कालिका के एस बेदान्सी जेभीले ३० महिनामा सडक स्तरोन्नतिको काम सकिसक्नुपर्नेछ ।

‘काम त सुरु भईसकेको छ,’ उहाँले भन्नुभयो, ‘स्तरोन्नतिको काम भन्दा अगाडि पूरा गर्नुपर्ने प्रक्रियागत कामहरु अहिले भईरहेको छ ।’ अहिले रुख कटानका लागि वन विभागबाट स्वीकृती लिने, लगत संकलन गर्ने, रुखको संख्या गन्ने, सर्भे लेआउट गर्ने लगायत कामहरु भईरहेको इन्जिनियर तिमिल्सिनाले जानकारी दिनुभयो । 

‘अहिले नदेखिने काम भईरहेको छ,’ उहाँले भन्नुभयो, ‘फिल्डमै पुगेर सडक निर्माणको काम पनि केही दिनमा सुरु हुन्छ ।’ ट्र्याक खुलेको करीब ४६ वर्षपछि गत बैशाखमा बोलपत्र आह्वान भएपछि सो सडकको स्तरोन्नत्ति कार्य सुरु भएको हो । 

इन्जिनियर तिमिल्सिनाका अनुसार विस्तृत प्ररियोजना प्रतिवेदन (डीपीआर) तयार भएको लामो समयपछि मात्रै सो सडक स्तरोन्नत्तिका लागि प्रक्रिया सुरु भएको हो । डीपीआर गर्दा कुल एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय ७३ रुपैयाँ लागत अनुमान गरिएको थियो । 

धुलियाविटदेखि बोटेचौरसम्म ३५ किलोमिटर रहेको यो सडकको हाल करीब ४ मिटर मात्रै चौडाई रहेको छ । ९ मिटर फर्मेसन ब्रिज रहने यो सडक स्तरोन्नत्ति गर्दा सात मिटर चौडाई बराबर कालोपत्रे गरिनेछ ।

राजमार्ग अन्तर्गतको धुलियाविट–भेडाबारी सडकको स्तरोन्नति गर्दा वीरेन्द्रनगर नगरपालिका–११ र १३, लेकवेशी नगरपालिकाको १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, १२, १३ र १४ नम्बर वडा प्रत्यक्ष प्रभावित हुनेछन् । २०३२ सालमा खोलिएको यो ट्र्याकको स्तरोन्नत्ति नहुँदा नागरिकहरु जोखिमपूर्ण यात्रागर्न बाध्य छन् । यस सडक खण्डमा बारम्बार सवारी दुर्घटना समेत हुने गरेको छ । 

सडक मर्मत नहुँदा वर्षाको समयमा हिलाम्य र अन्य समयमा धुलाम्य हुने गरेको छ । सडक स्तरोन्नत्ति हुने थाहा पाएपछि लेकवेशी नगरपालिकाका ८१ वर्षीय लोकबहादुर राना निकै उत्साहित छन् । आफू युवावस्था हुँदा खुलेको ट्र्याक अब बन्ने भएपछि सडक कालोपत्रे भएको हेर्ने धोको रहेको उनी सुनाउँछन् । यो ट्र्याक खोल्दा दशरथपुरको गोरामारेदेखि गुमीसम्म आफूले पनि खनेको उनले सम्झिए । 

‘आफैले मरीमरी सडक खनिएको हो चाँडै नै ठूलो बाटो बन्ला भनेर तर बनेन,’ उहाँले भन्नुभयो, ‘अब भने यो बाटो चिल्लो भएको हेरेर मरिने भईयो भन्ने लागेको छ, कहिलेकाहिँ त आश पनि लाग्दैन धेरै पटक बन्ने आश्वासन त सुन्दै आएका हौँ ।’ सडक स्तरोन्नत्ति भए अन्तरनगर आर्थिक समृद्धि पनि उकासिने लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले बताउनुभयो । 

यो सडक बनेपछि नागरिकले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताबाट पनि मुक्ति पाउने उहाँको भनाइ छ । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि ०३२ सालमा उनलाई नै देखाउनकै लागि यो ट्र्याक खोलिएको थियो । त्यसयता हालसम्म यो सडक स्तरोन्नत्तिका लागि पहल चालिएको थिएन । यसपटक सडक मर्मत हुने भएपछि स्थानीय उत्साहित बनेका छन् ।


प्रतिक्रिया