ऊर्जा क्षेत्रको विकासका लागि एडीबीले ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने

रेडियो कान्तिपुर संवाददाता

मंसिर १०, २०७८ | काठमाडौं

एसियाली विकास बैंक एडीबीले ऊर्जा क्षेत्रको विकासका लागि ६० मिलियन अमेरिकी डलर अर्थात झण्डै ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ । आज अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एडिबी र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायता सम्बन्धी सम्झौता भएको हो । 

सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र एडिबीको तर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गर्नुभयो । सम्झौतापछि अर्थ सचिव मधुकुमार मरासिनीले नेपालको जलविद्युतको क्षेत्रमा एशियाली विकास बैंकले ठूलो लगानी गर्दै आएको बताउनुभयो । विद्युत् ग्रीडलाई आधुनिक बनााउँदै थप सेवा सुविधा र विस्तार गर्नुपर्ने भएकाले एडिबीसँग विद्युत ग्रिड आधुनिक परियोजनाको लागि थप आर्थिक सहयोगको लागि सम्झौता भएको मरासिनीले बताउनुभयो ।

त्यस्तै, एडिबीका नेपाल निर्देशक अर्नाउड काचोइसले एडिबीको जलविद्युतमा ठूलो लगानी रहेको बताउनुभयो । उहाँले ती लगानीमध्ये नेपालमा जलविद्यूतको क्षेत्रमा अझ धेरै लगानी गरेको उल्लेख गर्दै नेपालको विद्युत उत्पादन क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि जारी राख्ने उल्लेख गर्नुभयो । एडिबीले उपलब्ध गराउने ऋण सहायताको रकम विद्युत प्राधिकरणमार्फत विद्यूत ग्रीड परियोजना कार्यान्वयनका लागि खर्च गरिने छ । 


प्रतिक्रिया