सुदूरपश्चिममा कृषि उपजको उत्पादनमा ७ प्रतिशतले वृद्धि

मंसिर १८, २०७८ | काठमाडौं

गत आर्थिक वर्ष २०७७/७८ मा सुदूरपश्चिम प्रदेशमा कृषि उपजको उत्पादन ७ दशमलव २६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार समीक्षा वर्षमा प्रमुख कृषि बालीको खेती भएको क्षेत्रफल शून्य दशमलव १८ प्रतिशतले वृद्धि भई उत्पादन पनि ७ दशमलव २६ प्रतिशतले बढेको पाइएको छ । 

प्रमुख खाद्य बाली तथा अन्य बाली मध्ये सबैभन्दा बढी आलुको उत्पादन १७ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ भने तेलहन बालीको उत्पादनमा १३ दशमलव ४६ प्रतिशतले हस आएको छ । 

यस्तै, तरकारी उत्पादन २३ दशमलव ८२ तथा फलफूल र मसला उत्पादन ४ दशमलव ८५ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा पशुजन्य उत्पादन अन्तर्गत दूध ६ दशमलव ४८ प्रतिशत, मासु शून्य दशमलव ७५ र अण्डा उत्पादन १ दशमलव ३० प्रतिशतले बढेको छ । 

यस्तै, सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ९ दशमलव ६५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ । यस्तै, समीक्षा वर्षमा सुदूरपश्चिम प्रदेशमा उद्योगहरुको औसत क्षमता उपयोग ४७ दशमलव २७ प्रतिशत रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । 

अघिल्लो आर्थिक वर्षमा सो उद्योगहरुको औसत क्षमता उपयोग ४४ दशमलव ५० प्रतिशत रहेको थियो । गत आर्थिक वर्षमा औद्योगिक उत्पादन मध्ये तोरीको तेल, दूध, चामल, इँटाको उत्पादनमा वृद्धि भएको छ भने अन्य वस्तुको उत्पादनमा हस आएको छ । 

गत वर्ष बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा मध्ये २१ दशमलव ४ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा प्रवाह भएको छ । समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेशन ११ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ भने सो बापतको राजश्व संकलनमा १ सय ६१ दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै, गत वर्ष सुदूरपश्चिम प्रदेशमा विभिन्न जलविद्युत आयोजनाबाट ५२ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । 


प्रतिक्रिया