नेप्से दोहोरो अंकले बढ्यो, ७ अर्ब बढीको कारोबार

पुस २६, २०७८ | काठमाडौं

कारोबारको दोस्रो दिन सोमबार धितोपत्र बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से आज १९ दशमलव ४३ अंकले बढेर २ हजार ७ सय ८४ दशमलव ९५ बिन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिन आइतबारको तुलनामा केही वृद्धि भएको छ । नेप्सेमा आज ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबारको पहिलो दिन हिजो ७३ अंकले उकालो लागेको नेप्सेमा ७ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको थियो । नेप्सेमा आज कुल २ सय ३६ कम्पनीका ७७ हजार १ सय ८३ कारोबारबाट एक करोड ४२ लाख ८८ हजार कित्ता सेयर किनबेच भए । 

नेप्सेमा आज कारोबारमा आएका १३ मध्ये १० वटा उपसमूहको परिसूचक उकालो लागेको छ । बैंकिङ्ग, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ओरालो लागेको छ । 

बैंकिङ १५, होटल तथा पर्यटन ३७ र उत्पादन ४७ अंकले घटेको छ । विकास बैंक ३७, फाइनान्स ७८, जलविद्युत ४०, जीवन बीमा २१८, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा १९०, अन्य ११३ र ब्यापार उपसमूह ५७ अंकले बढेका छन् । 


प्रतिक्रिया