बाँकी ६ महिनाभित्र शतप्रतिशत पूँजीगत खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह

पुस २७, २०७८ | काठमाडौं

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । 

मन्त्रालयमा आज आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्नु पर्ने भन्दै जसरी पनि खर्च बढाउन आग्रह गर्नुभएको हो । 

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईहरुलाई सहयोग गर्न तयार छु ।’

आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै शतप्रतिशत पूँजीगत खर्च गरिसक्न उहाँले आग्रह गर्नुभयो । ठूला योजनामा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिंदै उहाँले ठूला योजनामा अपनत्वका लागि उनीहरुलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने बताउनुभयो । 

त्यस्तै, मन्त्री शर्माले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै हरेक मन्त्रालयमा फाइल बोकेर हिँड्दा ढिला हुने भएकाले अब डिजिटल माध्यममा लैजानुपर्ने बताउनुभयो । 

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍यो । 

टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’ पछिल्लो समय पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । 

यसैबीच हिजोसम्मको तथ्याङ्क अनुसार पूँजीगत खर्च ९ दशमलव ३९, चालू खर्च ३८ दशमलव ९ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसकेको छ ।


प्रतिक्रिया