मुलुकको अर्थतन्त्र करीब २ खर्ब रुपैयाँ घाटामा

पुस २९, २०७८ | काठमाडौं

चालू आर्थिक वर्षको ५ महिनामा मुलुकको अर्थतन्त्र करीब २ खर्ब रुपैयाँ घाटामा गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत साउनदेखि मंसिरसम्ममा मुलुकको भुक्तानी अवस्था अर्थात शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब एक करोड रुपैयाँले घाटामा गएको हो । 

शोधनान्तर स्थिति अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई नै शोधनान्तर स्थितिले जनाउँछ । मुलुकमा भित्रिने भन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा जान्छ । 

त्यस्तै, गत साउनदेखि मंसिर मसान्तसम्म चालू खाता ३ खर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २३ अर्बले घाटामा रहेको थियो । 

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा छ ।

यस्तै, चालू आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स आप्रवाह ६ दशमलव ८ प्रतिशले घटेको छ । केन्द्रीय बैंकका अनुसार गत साउनदेखि मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो । यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार ५ महिनामाएक लाख ३१ हजार ८२ जनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । 

अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ९२ दशमलव ७ प्रतिशतले घटेको थियो । यस्तै, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या २ सय ९५ दशमलव ८ प्रतिशतले वृद्धि भई ९९ हजार ५ सय ८० पुगेको छ । 


प्रतिक्रिया