५ महिनामा मुलुकको व्यापार घाटा ५४ प्रतिशतले बढ्यो

पुस २९, २०७८ | काठमाडौं

चालू आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा ५४ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत साउनदेखि मंसिर सम्ममा मुलुकको व्यापार घाटा बढेर ७ खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा १० दशमलव ९ प्रतिशतले घटेको थियो । चालू आर्थिक वर्षको ५ महिनामा नेपालबाट वस्तु निर्यात १ सय ५ दशमलव ६ प्रतिशतले वृद्धि भएर एक खर्ब २ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । 

गत वर्षको सोही अवधिमा वस्तु निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । नेपालबाट भारत वस्तु निर्यात १३८ प्रतिशत र अन्य मुलुकमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १ दशमलव ४ प्रतिशतले घटेको छ ।

नेपालबाट विशेष गरी पाम तेल, सोयाबिन तेल, धागो, जुटका सामान लगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया तामाको तार लगायत वस्तुको निर्यात घटेको छ । 

यस्तै, वस्तु आयात भने ५९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार गत साउनदेखि मंसिर सम्ममा ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ६ प्रतिशतले कम हो । 

नेपालमा भारतबाट हुने वस्तु आयातमा ४४ दशमलव ६ प्रतिशत, चीनबाट ५७ दशमलव ८ र अन्य मुलुकबाट १ सय ११ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ । 


प्रतिक्रिया