पुँजीगत खर्च साढे ११ प्रतिशतमा सीमित

रेडियो कान्तिपुर संवाददाता

माघ १, २०७८ | काठमाडौं

चालु आर्थिक वर्षको ६ महिनामा विकास निर्माणका लागि छुट्याईएको पुँजीगत खर्च जम्मा साढे ११ प्रतिशतमा सीमित भएको छ । पुस मसान्त सम्ममा पुँजीगत खर्च ११ दशमलव ५६ प्रतिशत अर्थात् ५० अर्व ८० करोड रुपैँया हाराहारीमा मात्रै हुन सकेको हो । सरकारले विकास निर्माणका लागि यो वर्ष ४ खर्व ३९ अर्व रुपैँया बजेट विनियोजन गरेको थियो । ढिलो गरि आएको बजेट प्रतिस्थापन विधेयक र बजेट कार्यन्वयन कार्ययोजना समयमा बन्न नसक्दा पुँजीगत खर्च प्रभावित भएको हो । कोभिड–१९ संक्रमणका बीच गत वर्ष सोही अवधिमा पुँजीगत खर्च १४ प्रतिशत भन्दा वढी भएको थियो । कोभिडको तेस्रो लहरका कारण यो वर्ष थप प्रभावित हुने देखिएको छ ।

पुँजीगत खर्च गर्न नसकेको सरकारले चालु खर्च भने ४० प्रतिशत भन्दा वढी गरिसकेको छ । चालुतर्फ १० खर्व बजेट विनियोजन गरेको सरकारले पुष मसान्त हिजो सम्म ४० दशमलव ४९ प्रतिशत अथार्त ४ खर्व भन्दा वढी खर्च गरेको छ ।

सरकारी राजश्वमा भने अघिल्लो वर्षको तुलनामा केही सुधार देखिएको छ । पुस मसान्त सम्म सरकारले करिव ४६ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा ११ खर्व ८० अर्व राजश्व संकलनको लक्ष्य राखेको सरकारले ६ महिना हिजो सम्ममा ५ खर्व ४२ अर्व रुपैयाँ राजश्व संकलन गरिसकेको छ । अघिल्लो वर्ष सरकारले सोही अवधीमा ४१ प्रतिशत राजश्व संकलन गरेको थियो । 


प्रतिक्रिया