छ महिनामा व्यापार घाटा ४६ प्रतिशतले बढ्यो

माघ ९, २०७८ | काठमाडौं

चालू आर्थिक वर्षको ६ महिनामा मुलुकको व्यापार घाटा ४६ दशमलवल ६४ प्रतिशले बढेको छ । भन्सार विभागले आज सावर्जनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि पुसा सम्ममा मुलुकको व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको थियो । 

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँ थियो । आयात पनि गत वर्षको तुलनामा ५१ प्रतिशतले बढेको छ । 

छिमेकी तथा तेस्रो मुलुकबाट हुने वस्तु आयात बढेर ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षका सोही अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा ६ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । 

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट एक खर्ब ४५ अर्ब ९१ करोड रुपैयाँ बराबरका वस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालबाट हुने वस्तु निर्यात पनि ९५ प्रतिशतले वृद्धि भएको छ । 

गत साउतदेखि पुस सम्ममा एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु बाहिरी मुलुकमा निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्याङ्क छ । 

यस्तै, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।

यसैगरी नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड तथा चीनतर्फ ४५ करोड ६२ लाख रुपैयाँ बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।


प्रतिक्रिया