वीरगञ्जका होटल व्यवसायीद्वारा सम्पत्ति करमा छुट दिन माग

माघ ९, २०७८ | पर्सा

वीरगञ्जका होटेल तथा पर्यटन व्यवसायीले सम्पत्ति करमा ५० प्रतिशत छुट दिन सरकारसँग माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले आइतबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै होटलको सम्पत्ति करमा ५० प्रतिशत छुट दिन माग गरेका हुन् ।

संघका अध्यक्ष हरी पन्त नेतृत्वको होटल तथा पर्यटन व्यवसायीहरुको टोलीले महानगर प्रमुख सरावगीलाई सो ज्ञापनपत्र बुझाएको थियो । 

ज्ञापनपत्रमा कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी होटल तथा पर्यटन व्यवसाय प्रभावित भएकोमा यस विषम परिस्थितिमा संघीय सरकारले समेत होटल तथा पर्यटन व्यवसायलाई अति प्रभावित व्यवसायमा वर्गीकरण गरी केन्द्रीय बजेट एवं मौद्रिक नीति तथा कार्यक्रम मार्फत विभिन्न बैंकिक सुविधाहरु उपलव्ध गराइएको स्मरण गराइएको छ । 

व्यवसायीले स्थानीय सरकारबाट पनि आवश्यक सुविधा प्राप्त गर्न महानगरको नगर परिषद बैठक अघि नै मेयर सरावगीलाई महानगरको नीति तथा कार्यक्रममा आफूहरुले व्यवसायीको समस्या समेटी दिन ध्यानाकर्षण गराएको छ । 

महानगरले आफ्नो राजस्व नीतिमा पनि आफूहरुको समस्यालाई समेटेको अवस्थामा पछि सो बुँदाबाट होटल तथा पर्यटन शब्द छुट्न गएकोले आफूहरु ठूलो अन्यायमा परेको महसुस गरेको ज्ञापन पत्रमा उल्लेख छ । 

साथै अन्य कोभिड प्रभावित क्षेत्रले पाएको सुविधा होटल तथा पर्यटन क्षेत्रलाई पनि उपलव्ध गराई दिन ज्ञापन पत्रमा माग गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख सरावगीले होटल तथा पर्यटन व्यवसायीको यो माग प्रति आफू सकारात्मक रहेकाले सक्दो छिटो यो माग सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । 


प्रतिक्रिया