दूधको मूल्य तत्काल नबढाए चितवनका किसानले आन्दोलन गर्ने

माघ १६, २०७८ | चितवन

दूधको मूल्य तत्काल वृद्धि नगरे संघर्षमा उत्रिने चितवनका दुग्ध उत्पादक किसानले चेतावनी दिएका छन् । आइतबार चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले भरतपुरमा पत्रकार सम्मेलन गरी दूघको मूल्य बढाउन माग गरेका हुन् । 

संघका अध्यक्ष रत्नमणि न्यौपानेले लिटरमा कम्तिमा १५ देखि २० रुपैयाँसम्म मूल्य बढ्नु पर्ने माग राख्नुभयो । सरकारले माघ १ गतेदेखि मूल्य वृद्धि गर्ने बताएपनि अहिलेसम्म नबढेको हुँदा अब संघर्षमा उत्रिने उहाँले बताउनुभयो । 

संघका सचिव किशोर बगालेले सरकारले एक लिटरमा १० रुपैयाँ मूल्य बढाएर किसानलाई ७ रुपैयाँ र डेरी उद्योगीलाई तीन रुपैया दिने तयारी गरेको बताउनुभयो । किसानका लागि यो हितकारी नदेखिने उहाँको तर्क छ । 

अहिले दूधको मूल्य किसानले सरदर लिटरमा साढे ५२ रुपैयाँ पाएको उहाँले बताउनुभयो । तर, दाना चोक्कर, परालको मूल्य अत्याधिक बढेको हुँदा अहिले उत्पादन लागत नै प्रति लिटर ६३ रुपैयाँ पर्ने उहाँले बताउनुभयो । 

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भगिरथ तिमिल्सिनाले सरकारले तीन वर्षयता दूधको मूल्य नबढाएका कारण किसान मर्कामा परेको बताउनुभयो । 

केन्द्रीय संघका अर्का सदस्य बालकृष्ण उप्रेतीले पहिला कृषि मन्त्रालयले नै मूल्यका सन्दर्भमा निर्णय गर्ने भएपनि अहिले मन्त्रिपरिषदले नै निर्णय गर्ने भनेर किसानलाई अलमल्याउन खोजेको आरोप लगाउनुभयो । 


प्रतिक्रिया