मुलुकको मूल्यवृद्धि ७ प्रतिशत भन्दामाथि

रेडियो कान्तिपुर संवाददाता

वैशाख २८, २०७९ | काठमाडौं

मुलुकको मूल्यवृद्धि ७ प्रतिशत भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक मूल्यवृद्धि ७ दशमलव २८ प्रतिशत पुगेको हो ।

 राष्ट्र बैंकका अनुसार चैत महिनाको समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७ दशमलव ४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ७ दशमलव १८ प्रतिशत छ । सो अवधिमा औसत मूल्यवृद्धि भने ५ दशमलव ६२ प्रतिशत छ । सरकारले यस आर्थिक वर्षमा मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य लिएको थियो ।

यसैबीच, यस्तै शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । राष्ट्रबैंकका अनुसार मुलुकको विदेशी मुद्रा सञ्चिति थप घटेको छ । वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ । फागुनसम्म यस्तो सञ्चिति ११ खर्ब ७१ अर्ब थियो । 

चालु आर्थिक वर्षको नवौं महिनामा पनि रेमिट्यान्स ओरालो लाग्ने क्रम जारी छ । राष्ट्रबैंकद्वारा आज सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म रेमिट्यान्स आप्रवाह शून्य दशमलव ६ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह २ दशमलव २ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव १ प्रतिशतले बढेको थियो ।

यसैबीच, राष्ट्रबैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेर २ लाख ५६ हजार ३१ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४ दशमलव ९ प्रतिशतले घटेको थियो । यस्तै, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २ लाख ६ हजार ६ सय २९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६० दशमलव ७ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया