नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २५, २०७९ | काठमाडौं

विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसअघिको प्रक्षेपणभन्दा शून्य दशमलव २ प्रतिशत बिन्दुले अनुमान घटाएको हो । 

त्यस्तै सन् २०२३/२४ का लागि नेपालले ५ दशमलव ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५ दशमलव ८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

विश्व बैंकले सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदर यसअघि गत जनवरीमा अनुमान गरेको भन्दा कम रहने जनाएको छ । सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई शून्य दशमलव ८ प्रतिशत बिन्दुले घटाएर ६ दशमलव ८ प्रतिशत कायम गरेको छ । 

आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाहृय क्षेत्रलाई मुख्य कारण मानिएको छ । बढ्दै गएको चालु खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ । त्यस्तै कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुालगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा संकटजस्ता कारणले आर्थिक वृद्धिदर कम हुने ठानिएको छ । 


प्रतिक्रिया