शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड घाटामा

जेष्ठ २७, २०७९ | काठमाडौं

चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा मुलुकको भुक्तानी अवस्था अर्थात शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ ।

 अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१ दशमलव ३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ । वैदेशिक लगानी १८ दशमलव २ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच, मुलुकको विदेशी मुद्रा सञ्चिति घट्ने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड थियो । पछिल्लो १ महिनाको अवधिमा मात्र २१ अर्ब रुपैयाँले सञ्चितिमा गिरावट आएको राष्ट्रबैंकले जनाएको छ । 


प्रतिक्रिया