बेलायतसँग हुने श्रम समझदारीको अन्तिम मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने, २ हजार नर्स पठाउने सरकारको तयारी

जेष्ठ २७, २०७९ | काठमाडौं

बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने विषयमा आगामी साता हस्ताक्षर हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज भएको भेटका क्रममा श्रम समझदारीको तयारीबारे छलफल भएको हो । 

श्रम समझदारीको मस्यौदा बनाउन गठित दुबै मुलुकका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको मन्त्रालयले जनाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो । 

पहिलो चरणमा २ हजार नर्स पठाउने सरकारको तयारी छ । त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । 

मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको तनहुँ जिल्लामा कम्तीमा १ सय बेडको नर्सिङ कलेजसहितको अस्पताल निर्माण गर्ने योजना रहेको बताउँदै बेलायत सरकारबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । भेटमा नेपाली श्रमिकहरुलाई बेलायतमा रोजगारीका लागि निर्माण, ड्राइभिङ, कृषि, होटल व्यवसाय जस्ता अन्य क्षेत्रहरुमा हुने सम्भावनाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने मस्यौदामा उल्लेख छ । 


प्रतिक्रिया