पुँजीगत खर्च ३६ प्रतिशतमा सिमित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७९

चालु आर्थिक बर्षमा विकास निर्माणका लागि छुट्याईएको बजेट अथार्त पुँजीजगत खर्च ३६ प्रतिशतमा सिमित भएको छ । संशोधन गरेर लक्ष्य घटाईएको ३ खर्व ७८ अर्व रुपैँया मध्ये जेठ मसान्त सम्ममा जम्मा ३६ दशमलव २ प्रतिशत अर्थात १ खर्व ३६ अर्व रुपैयाँ हाराहारीमा मात्रै खर्च हुन सकेको छ । अवको १ महिना असार भित्र ६४ प्रतिशत अथार्त २ खर्व ४२ अर्व रुपैया हाराहारीमा खर्च गर्नुपर्ने बाध्यता छ ।

समग्र बजेटको मुस्किलले २० प्रतिशत बजेट विकासका लागि छुट्याउने तर सो रकम पनि खर्च गर्न नसक्ने परिपाटी यो वर्ष पनि दाहोरिएको छ । विकास बजेट खर्च प्रणालीको संरचनागत सुधार हुन नसक्दा सधै एकै खाले नियति दाहोरिने गरेको छ ।

कोभिड १९ को असर, निर्माण व्यवसायीको अवरोध, निर्माण सामाग्रीको आपूर्तिमा समस्या लगायतका कारणले अपेक्षा अनुसारको खर्च हुन नसकेको अर्थमन्त्रालयको दावी छ । असारे खर्च प्रवृत्ति यो वर्ष पनि दोहोरिने निश्चित छ ।

राजश्व तर्फ भने सरकार लक्ष्य अनुसार नै अघि बढेको छ । ११ खर्व ८० अर्व राजश्व संकलन लक्ष्य राखेको सरकारले जेठ मसान्तसम्म ७९ प्रतिशत अथार्त ९ खर्व ३९ अर्व रुपैया राजश्व संकलन गरेको छ । सरकारी राजश्वले आफ्नै कर्मचारीको तलव धान्न पनि सरकारलाई मुस्किल छ । जसका कारण सरकारले प्रत्येक वर्ष घाटा बजेट निर्माण गर्दै आएको छ । आन्तरिक ऋण तथा वाह्य ऋण एव अनुदान गरि झण्डै ५ खर्व श्रोत अनुमानलाई आधार मानेर सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्व ९३ अर्व हाराहारिको बजेट ल्याएको छ । 


प्रतिक्रिया