झण्डै चार दिनको हिडाईपछि बैंक पुग्छन् साइपालबासी

भाद्र २३, २०७९ | काठमाडौं

सुदूरपश्चिम प्रदेशअन्तर्गत पहाडी क्षेत्रमा पर्ने बझाङ जिल्लाको साइपाल गाउँपालिका । जहाँ हालसम्म कुनै पनि बैंक छैन । त्यहाँका बासिन्दा बैंकिङ कारोबारका लागि ३ देखि ४ दिनको पैदल हिडेर जिल्ला सदरमुकाम चैनपुर पुग्छन् । सबै स्थानीय तहमा बैंकको कम्तीमा एक शाखा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको नीति भएपनि साइपाल गाउँपालिका भने त्यसबाट वञ्चित भएको छ । स्थानीयबासीका अनुसार साइपालमा एभरेष्ट बैंकले केही समयअघि शाखा खोल्ने जिम्मा पाएको थियो । तर बैंकले सडक, विद्युत, इन्टरनेट र टेलिफोनको समस्या देखाउँदै शाखा खोल्न नसकेको गाउँपालिका अध्यक्ष मानविर बोहराले बताउनुभयो । ‘‘रोड, जंगल, इन्टरनेट र संञ्चारको सुविधा नभएकाले जिम्मा पाएको बैंकले शाखा विस्तार गर्न मानेन ।’’ उहाँले भन्नुभयो ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५२ मा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । जिम्मा पाएको बैंकले समयमै शाखा नखोल्दा त्यहाँका बासिन्दालाई स–सानो रकम जम्मा गर्न होस् वा निकाल्न, सदरमुुकाम चैनपुुर जानुपर्ने बाध्यताले छाडेको छैन । बैंकमा सानो कारोबार भए पनि ३ देखि ४ दिन हिडेर चैनपुर जानु पर्ने बध्याता रहेको गाउँपालिकामा कार्यरत स्वयंसेविका सुनिता बोहराले बताउनुभयो ।

साइपाल गाउँमा ४ सय ५० घरधुरी छ । त्यहाँका ३ हजार जनसंख्या बैंकको पहुँचबाट वञ्चित छन् । वृद्धवृदाहरुको भत्ता भने गाउँपालिकाका सचिवमार्फत रकम निकालेर प्रत्येकको घरघरमा पुर्‍याउँदै आएको अध्यक्ष बोहराले बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि निर्वाचित भएका जनप्रतिनिधिले गाउँपालिकामा बैंक विस्तार गर्न विभाग र बैंकसँग पहल गरिरहेको बोहराको भनाई छ ।

राष्ट्र बैंकको २०७९ असार मसान्तको तथ्यांकअनुुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६ सय ८३ रहेकोमा २०७९ असार मसान्तमा ११ हजार ५ सय २८ पुगेको छ । साइपाल गाउँपालिकामा शाखा पुर्‍याउनका लागि कस्तो पहल भइरहेको छ त ? भन्ने प्रश्नमा राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले पालिकामा सडक विस्तार भएपछि जिम्मा दिएको बैंकले शाखा विस्तार गर्ने बताउनुभयो ।

बैंकिङ सुविधाको पर्खाइमा रहेका साइपालबासीमा छिट्टै बैंकको शाखा खुलेको हेर्ने चाहना कहिले पुरा हुने हो, त्यसको टुंगो छैन । सामान्य कारोबारका लागि घण्टौं  हिड्नुपर्ने उनीहरुको बाध्यताले भने निरन्तरता पाइरहेको छ ।  


प्रतिक्रिया