नेपाल र भारतबीच जलस्रोत सह–सचिवस्तरी बैठक आज पनि

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७९ | काठमाडौं

नेपाल र भारतबीच जलस्रोत सह–सचिवस्तरी बैठक आज पनि काठमाडौंमा बसिरहेको छ । काठमाण्डौंमा हिजोबाट सुरु बैठकमा दुई मुलुककबीचको जलस्रोत व्यवस्थापन तथा बाढी नियन्त्रणसहित वर्षौँदेखि थाती रहेका मुद्दामा केन्द्रीत रहेर छलफल भइरहेको छ । हिजैबाट दुई देशका जलस्रोत सहसचिवस्तरीय ‘जोइन्ट स्टेन्डिङ टेक्निकल कमिटी’ (जेएसटीसी) को बैठक जारी छ 

। बैठकमा जलस्रोत व्यवस्थापनका लागि दुई देशले विभिन्न समयमा गरेका सन्धि तथा सम्झौताको कार्यान्वयनको अवस्थामाथि छलफल भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले बताउनुभयो । मुख्यगरी सप्तकोसी उच्च बाँध, पञ्चेश्वर, सुनकोसी–कमला, गण्डकी र कोसी सम्झौताका विषय नेपालले उठान गरेको छ । 

हरेक पटकका जेसीडब्लूआर बैठकमा महाकाली, गण्डकी र कोसी सम्झौतासँग जोडिएको विषयको कार्यान्वयन मुख्य एजेन्डाका रहँदै आएपनि त्यसको कार्यान्वयनमा भने दुवै पक्षबाट उदासीनता देखिँदै आएको छ । २०१९ जनवरी ११ मा नयाँदिल्लीमा बसेको जेसीडब्लूआरको आठौं बैठकले सहमति जुटाएका भनिएका विषय पनि हालसम्म सुल्झिएका छैनन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अहिले पञ्चेश्वरका विषयमा नेपाल र भारतबीच १ सय २६ वटा बुँदामा विमति छ । यी अधिकांश विमतिलाई डीपीआरमार्फत विज्ञ समूहले टुंगाउने भनिएकोमा विज्ञ समूहले नै काम गर्न नसक्दा ती सबै विषय अलपत्र परेका छन् । 


प्रतिक्रिया