वीरगञ्ज नाकाबाट धान चालमको आयात बढ्यो

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरमा भारतबाट धान लोड गरेर आएका ट्रकको लाम । तस्विर : शंकर आचार्य/रेडियो कान्तिपुर । 

मंसिर १७, २०७९ | पर्सा

वीरगञ्ज नाकाबाट धान र चामलको आयात ह्वात्तै बढेको छ । मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिए लगत्तै भारतबाट यसको आयात सुरु भएको हो । 

एकीकृत सुरक्षा जाच चौकी सञ्चालक इन्टरमोडल यातायात विकास समितिको तथ्यांक अनुसार मंसिर ५ देखि बिहीबारसम्ममा सो नाका हुँदै १ हजार ७ सय ९४ ट्रक धान र २३ ट्रक चामल भारतबाट आयात भएको छ । बिहीबार एकैदिन २ सय ५ ट्रक धान आयात भएको थियो । 

इन्टर मोडलका अपरेशन इन्चार्ज जितेन्द्र रसाइलीले धान चालमको आयात बढेपछि यो नाका हुँदै दैनिक भित्रिने मालबाहक सवारीको संख्यानै बढेको बबताउनुभयो । ‘यसअघि दैनिक ४ सयदेखि ४ सय ५० को हाराहारीमा मालबाहक सवारी साधन दैनिक भित्रिने गरेको थियो,’ उहाँले भन्नुभयो, ‘डेढ साता यता भने दैनिक ५ सयदेखि ५ सय ५० को हाराहारीमा मालबाहक सवारी भित्रि रहेका छन् ।’ 

भारतले नेपालतर्फ धान र चामलको निर्यात खुल्ला गरेलगत्तै वीरगञ्ज नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले बताउनुभयो । ‘भारतले निर्यात फुकुवा गरेलगत्तै यो नाकाबाट धान र चामल दुबैको आयात बढेको हो’, उहाँले भन्नुभयो, ‘भारतले पुन: निर्यातमा रोक लगाउने आशंकाले व्यवसायीले हतारमा आयात गरेर भण्डारण गरी राखेको हुन सक्छ ।’ 

सुवेदीका अनुसार धानको आयातबाट राजश्वमा खासै योगदान भने हुँदैन । धानको आयातमा कृषि सुधार शुल्क ५ प्रतिशत मात्रै लाग्छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध कुमार गुप्ताले भारतले नेपालका लागि यसवर्ष ६ लाख मेट्रिक टन मात्र धान चामलको निर्यात फुकुवा गरेकाले व्यवसायीले हतारमा धान चामल आयात गरिरहेको बताउनुभयो ।

गुप्ताले भन्नुभयो, ‘नेपालका अन्य नाकाबाट पनि धान चामल भित्रि रहेकाले व्यवसायीले भारतको कोटा सक्किने र भारतले जुनसुकै बेला पनि निर्यातमा रोक लगाउन सक्ने आशंकाले व्यवसायीले हतार गरेका हुन् ।’ गुप्ताका अनुसार गत वर्ष भारतले साढे ५ लाख मेट्रिक टन कोटा नेपाललाई दिएको थियो । यसवर्ष सिजनमै धान आयात गर्न पाएपछि व्यवसायीलाई धेरै राहत भएको गुप्ताको भनाई छ । भारतको धान र स्वदेशी धान समेतले नेपालको वर्ष भरीको माग धान्न सक्ने र चामल महँगो समेत नहुने उहाँले बताउनुभयो । 


प्रतिक्रिया