३ प्रदेशमा ७ हजार ४८२ मेट्रिक टन युरिया पठाइयो

वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आईपुगेको कृषि सामग्री कम्पनीको युरिया मल । तस्बिर सौजन्य : आलोक कुमार । 

मंसिर २९, २०७९ | पर्सा

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जले मधेश, बागमती र गण्डकी प्रदेशमा करीब साढे ७ हजार मेट्रिक टन युरिया मल परिचालन गरेको छ । युरिया मलको चरम माग भईरहेको बेला कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयले गत कात्तिकदेखि हालसम्म ७ हजार ४ सय ८२ मेट्रिक टन युरिया मल परिचालन गरेको हो । 

कम्पनीको प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार ग्लोबल टेण्डरबाट भारतको आइपीएल कम्पनी मार्फत ३० हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ । त्यसमध्ये १२ हजार मेट्रिक टन युरिया वीरगञ्ज प्रादेशिक कार्यालयले पाउने उहाँले बताउनुभयो । 

१२ हजार मेट्रिक टन मध्ये ८ वटा रेल्वे र्‍याकमा आएको ७ हजार ९ सय ५० मेट्रिक टन युरिया मल कार्यालयलाई प्राप्त भईसकेको र बाकी मल आगामी शुक्रबारसम्ममा आइपुग्ने उहाँले जानकारी दिनुभयो । बाँकी मल २ वटा रेल्वे र्‍याकमा आउने छ । प्राप्त मल मध्ये सबै भन्दा बढी मधेश प्रदेशका जिल्लाहरुमा ४ हजार ६ सय ९५मेट्रिक टन युरिया मल परिचालन भएको छ । 

त्यसैगरी, बागमती प्रदेशका जिल्लामा २ हजार ४ सय २ दशमलव ५ र गण्डकी प्रदेशका जिल्लाहरुमा ३ सय ८५ मेट्रिक टन युरिया मल परिचालन भएको छ । माग भएका अन्य जिल्लामा उनीहरुलाई प्राप्त कोटा अनुरुपनै मल परिचालन गर्ने गरिएको प्रादेशिक कार्यालयका सूचना अधिकृत कुमारले जानकारी दिनुभयो ।

 ‘कुन जिल्लाले कति मल पाउने हो भनि कोटा तय भएको हुन्छ,’ कुमारले भन्नुभयो, ‘कम्पनीले प्राप्त गर्ने मलको आधारमा जिल्लाहरुलाई कोटा तय हुने गरेको छ, कोटा भन्दा कम वा बढी कुनै जिल्लाले पाउँदैनन् ।’ 

हाल परिचालन भई रहेको मल गहुँ बाली सिजनका लागि लक्षित गरेर परिचालन गरिएको र त्यसले जिल्लाका किसानको युरिया मलको माग धेरै हदसम्म सम्बोधन गर्ने प्रादेशिक कार्यालयका सूचना अधिकृत कुमारले बताउनुभयो ।


प्रतिक्रिया