खाद्यले गत वर्ष भन्दा ३४० रुपैयाँ बढी मूल्यमा जिरा मसिनो धान खरिद गर्ने

पुस ४, २०७९ | पर्सा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले किसानको जिरा मसिनो धान गत वर्षको भन्दा बढी मूल्यमा खरिद गर्ने भएको छ । जिल्ला स्तरीय प्राथमिक खरिद समितिको आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिरा मसिनो धान प्रति क्विन्टल ३ हजार २ सय ५० रुपैयाँमा खरिद गर्ने निर्णय गरेको हो । 

शाखा प्रमुख विकास कटुवालका अनुसार, सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाको अध्यक्षतामा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिमा वीरगञ्ज उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र पर्सा र किसान प्रतिनिधि सदस्य छन् । खाद्यले गत वर्ष भन्दा जिरा मसिनो धान यस वर्ष प्रति क्विन्टल ३ सय ४० रुपैयाँ बढीमा खरिद गर्न लागेको हो । 

गत वर्ष शाखाले प्रति क्विन्टल २ हजार ९ सय १० रुपैयाँमा जिरा मसिनो धान खरिद गरेको थियो । सोना मन्सुली धानको समर्थन मूल्य यस अघिनै संघीय सरकारले प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरिसकेको छ । शाखा प्रमुख कटुवालले पुस ११ गते सोमबारबाट शाखाले किसानको धान खरिद सुरु गर्ने बताउनुभयो । 

‘आवश्यक सम्पूर्ण तयारी पूरा गरेर यस वर्ष पुस ११ देखि शाखाले धान खरिद सुरु हुन्छ होला,’ उहाँले भन्नुभयो, ‘यस वर्ष सोना मन्सुली धान १० हजार क्विन्टल र जिरा मसिनो धान २ हजार क्विन्टल खरिदको कोटा केन्द्रबाट पाइएको छ ।’ 

हाललाई कुल १२ हजार क्विन्टल धान खरिदको कोटा यस वर्षका लागि पाइएपनि परिमाणमा पछि थपघट हुन सक्ने उहाँले बताउनुभयो । गत वर्ष पुस १० बाट धान खरिद सुरु गरिएको शाखा प्रमुख कटुवालले बताउनुभयो । शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो । 

जिरा मसिनो धान भने किसानले कम परिमाणमा ल्याएका थिए । धान खरिदको समयमा किसान भन्दा बिचौलिया सक्रिय हुने सम्भावना रहेकाले शाखाले किसानलको लालपुर्जा र सम्बन्धित पालिकाको सिफारिशको आधारमा मात्र धान खरिद गर्ने उहाँको भनाई छ । 


प्रतिक्रिया