सिर्सिया सुक्खा बन्दरगाहबाट स्पन्ज आइरनको आयात बढ्दो

वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह गोदाममा भारतबाट आयातित स्पन्ज आइरनका बोरा । साथै फलाम डण्डी उद्योगका अन्य कच्चा पदार्थ । तस्बिर : शंकर आचार्य/ रेडियो कान्तिपुर । 

पुस ७, २०७९ | पर्सा

वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा भारतबाट हुने स्पन्ज आइरनको आयात बढ्दो छ । फलाम तथा डण्डी उद्योगका कच्चा पदार्थ एमएस बिलेट, एचआर क्वाइल आदिको आयात भने घट्दो छ । 

स्पन्ज आइरन बाहेक फलाम तथा डण्डी उद्योगका कच्चा पदार्थ बोक्ने बीआरएन रेल्वे र्‍याकको आगमन ४ महिना यता घटेको छ । अर्कोतिर स्पन्ज आइरन, मल, चिनी, मकै आदि बन्द कार्गो बोक्ने बीसीएन रेल्वे र्‍याकको आगमन बढ्दो छ । अगष्टमा स्पन्ज आइरन बाहेका विभिन्न फलामजन्य वस्तु बोकेर साढे १५ बीआरएन रेल्वे र्‍याक यो बन्दरगाहमा आएका थिए ।

सेप्टेम्बरमा ५, अक्टोबरमा साढे ५ र नोभेम्बरमा ७ बीआरएन रेल्वे र्‍याक नेपाल भित्रिएका छन् । अर्कोतर्फ स्पन्ज आइरन, रासायनिक मल, चिनी, मकै, टायल बनाउने माटो लगायत वस्तु बोकेर आएका बीसीएन रेल्वे र्‍याकको आगमन बढेको छ । 

अगष्टमा २०, सेप्टेम्बरमा साढे १९, अक्टोबरमा २० र नोभेम्बरमा १० बीसीएन रेल्वे र्‍याक आएका छन् । यही डिसेम्बरको बुधबारसम्ममा भारतबाट यो बन्दरगाहमा एउटा पनि फलाम डण्डी उद्योगका कच्चा पदार्थ बोकेको रेल्वे र्‍याक (बीआरएन) आएका छैनन् ।

बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीको अगष्ट यताको तथ्यांक हेर्दा स्पन्ज आइरनको आयात उकालो लागेको छ भने एमएस बिलेट र एचआर क्वाइलको आयात ओरालो लाग्दै गरेको देखिन्छ । बोरामा प्याकिङ्ग गरेर आयात हुने गरेको स्पन्ज आइरन बन्द कार्गो (बीसीएन) बोक्ने रेल्वे र्‍याकबाट मुलुक भित्रिने गरेका छन् ।

अगष्टमा सो बन्दरगाह हुँदै साढे १२ रेल्वे र्‍याक स्पन्ज आइरन आयात भएको थियो । सेप्टेम्बरमा साढे १४, अक्टोबरमा १६ र नोभेम्बरमा ४ र्‍याक स्पन्ज आइरन आयात भएको छ । 

त्यसैगरी, अगष्टमा साढे १२ रेल्वे र्‍याक एमएस बिलेट, १ रेल्वे र्‍याक एचआर क्वाइल आयात भएको थियो । सप्टेम्बरमा २ र्‍याक एमएस बिलेट, अक्टोबरमा १ र्‍याक एमएस बिलेट, १ र्‍याक एचआर क्वाइल, नोभेम्बरमा ३ र्‍याक एमएस बिलेट र २ र्‍याक एचआर क्वाइल आयात भएको छ ।

सरकारले स्पन्ज आइरनको भन्सार शुल्क घटाएर फलामे डण्डीका अन्य कच्चा पदार्थको भन्सार शुल्क यथास्थितिमै राखेकाले पनि स्पन्ज आईरनको आयात बढेको हुन सक्ने प्रिष्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले बताउनुभयो । पछिल्लो समय आर्थिक मन्दी र बैंकहरुले ऋण नदिंदा भवन तथा अन्य पूर्वाधार निर्माणमा कमी आएर डण्डी उद्योगहरुले उत्पादननै घटाएको हुन सक्ने उहाँको भनाई छ । 

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले स्पन्ज आइरनको आयातमा १ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने गरेकाले पनि उद्योगीले स्पन्ज आइरनलाई प्राथमिकतामा राखेको बताउनुभयो । ‘उद्योगीहरुको माग अनुसार सरकारले पुरक बजेटबाट स्पन्ज आइरनको भन्सार शुल्क ५ प्रतिशतबाट घटाएर १ प्रतिशत बनायो,’ उहाँले भन्नुभयो, ‘डण्डी उद्योगका अन्य कच्चा पदार्थको भन्सार शुल्क भने पुर्ववत अवस्थामै रह्यो ।’


प्रतिक्रिया