जीटूजी मार्फत आयात गरिएको ३० हजार मेट्रिक टन युरिया रक्सौल आईपुग्यो

फाइल फोटो 

पुस २३, २०७९ | पर्सा

नेपाल सरकारले भारतसँग जीटूजी प्रक्रियाबाट खरिद गरेको ३० हजार मध्यको २५ सय १० मेट्रिक टन युरिया मल बोकेर पहिलो रेल्वे र्‍याक रक्सौल आईपुगेको छ । २ हजार ५ सय १० मेट्रिक टन मल बोकेको पहिलो रेल्वे र्‍याक वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेशनमा शुक्रबार बिहान आईपुगेको हो । 

कृषि सामग्री कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार, कोलकाता बन्दरगाहबाट हिँडेको सो रेल्वे र्‍याक शनिबार बिहान करीब ७ बजेतिर रक्सौल रेल्वे स्टेशन आईपुगेको हो । अब रक्सौलबाट ट्रकमा ढुवानी गरी सो मल वीरगञ्ज ल्याईने उहाँले जानकारी दिनुभयो । 

कुल ३० हजार मध्ये २५ हजार ५ सय मेट्रिक टन मल रक्सौल वा वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउन सक्ने उहाँले बताउनुभयो । 

‘हाललाई पहिलो र्‍याक रक्सौल रेल्वे स्टेशनमा आएपनि दोस्रो वा त्यसपछिको र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा पनि आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘वीरगञ्ज आएको मल मध्ये ११ हजार ५ सय मेट्रिक टन मल वीरगञ्ज प्रादेशिक कार्यालयले पाउने छ ।’ 

वीरगञ्जस्थित प्रादेशिक कार्यालयका प्रमुख चौलागाईका अनुसार भैरहवा प्रादेशिक कार्यालयलाई १० हजार र विराटनगर प्रादेशिक कार्यालयलाई ४ हजार ५ सय मेट्रिक टन ट्रकमा ढुवानी गरी पठाइने छ । बाँकी मल कोलकाताबाट सोझै विराटनर पुर्‍याइनेछ । 

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसिएफ) ले तेश्रो मुलुकबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै सो मल नेपाल ल्याउन लागेको हो । ढुवानीकर्ताले ३५ दिनभित्र सबै मल नेपाललाई बुझाउने तालिका रहेपनि निरन्तर यसै गतिमा रेलमा मल आएको खण्डमा छिटै मल उपलब्ध हुने चौलागाईले बताउनुभयो । 

जीटूजीको यो मल गहुँ बालीका लागि केही हदसम्म उपयोगी हुने उहाँले बताउनुभयो । पहाडी जिल्लाहरुमा ढिलो गरी गहुँ छर्ने गरिएकाले त्यहाँका लागि यो मल उपयोगी हुने उहाँले बताउनुभयो । यस वर्ष सबै मल गहुँ बालीमा प्रयोग नहुने भएकाले बाँकी मल आगामी सिजनको चैते तथा बर्खे धान बालीका लागि पनि उपयोगी हुने उहाँको भनाई छ ।


प्रतिक्रिया