खाद्य कम्पनीले वीरगञ्जमा खरिद गर्‍यो ४ करोड ३५ लाखको धान

वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा परिसरमा धान लोड गरिएका ट्याक्टर । फाइल तस्बिर : शंकर आचार्य/ रेडियो कान्तिपुर  

पुस २९, २०७९ | पर्सा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले यस वर्ष किसानबाट करीब १३ हजार ८ सय ९० क्विन्टल धान खरिद गरेको छ । शाखाले यही पुस ११ गतेदेखि धान खरिद सुरु गरेकोमा बिहीबारसम्ममा शाखा परिसरमा रहेको किसानको धान तौल गरेको हो । 

शाखा प्रमुख विकास कटुवालका अनुसार यस वर्ष प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँका दरले ४ करोड ३५ लाख रुपैयाँ बराबरको धान खरिद गरिएको हो । शाखाले पुस २२ गतेनै धान खरिद बन्द गरेकोमा शाखा परिसरमा भित्रिसकेको धान यस अवधिमा तौल गरिरहेको थियो । 

यस वर्ष बाराको फेटा गाउपालिका र पर्साको पोखरिया नगरपालिका, बिन्दवासिनी तथा जगरनाथपुर गाउँपालिकाका किसानले बढी धान बिक्री गर्न ल्याएको शाखा प्रमुख कटुवालले जानकारी दिनुभयो ।

 शाखाले यस वर्ष सोना मन्सुली धान १० हजार र जिरा मसिनो धान २ हजार गरी कुल १२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर, किसानले जिरा मसिनो धान नल्याएपछि त्यस बराबरको सोना मन्सुली धाननै खरिद गरेको थियो । 

केन्द्रबाट यस वर्षको कोटामा थप गरी कुल १५ हजार क्विन्टलसम्म धान खरिदको अनुमति पाएको थियो । त्यस कारण शाखाले पुस २२ सम्म मात्र धान खरिद गर्ने घोषणा गरेर १५ हजार क्विन्टल धान शाखा परिसरमा भित्रिसकेको अनुमान गरी नयाँ धान बोकेका ट्याक्टरलाई शाखा परिसरमा प्रवेशमा रोक लगाएको थियो । 

संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको थियो । यस वर्ष शाखाले किसानको न्युनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद गरेको थियो । गत वर्ष शाखाले १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो ।


प्रतिक्रिया