नेपालले बंगलादेशलाई विद्युत बिक्री गर्ने

माघ १२, २०७९ | काठमाडौं

नेपालले आगामी बर्खायाममा बंगलादेशलाई पनि विद्युत बिक्री गर्ने तयारी गरेको छ । यो वर्षको बर्खायाममा भारतमा साढे १० अर्बको विद्युत बिक्री गरेको नेपालले आगामी वर्ष विद्युतको बजार बंगलादेशसम्म पुर्‍याउने तयारी गरेको छ । भारतकै ट्रान्समिसन लाईन प्रयोग गरेर आगामी वर्ष बंगलादेशमा ५० मेगावाट विद्युत बेच्ने गरी तयारी भईरहेको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । 

यसअघि बंगलादेशमा विद्युत निर्यातका लािग भारतीय अवरोध हुँदै आएकोमा पछिल्लो समय सकारात्मक देखिएको उहाँको भनाई छ । बंगलादेशमा विद्युत निर्यात गर्ने सम्बन्धमा आगामी फागुन पहिलो साता नेपाल र भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक बस्दैछ । भारत र बंगलादेशसँग छुट्टाछुट्टै बैठकपछि त्रिदेशीय समझदारीको तयारी भएको हो । फागुनमा भारतीय पक्षसँग छलफल लगत्तै बंगलादेशसँग पनि वार्ताको तयारी भएको छ ।

ऊर्जा सचिव घिमिरेका अनुसार आगामी बर्खायाममा बंगलादेशलाई ५० मेगावट विद्युत बेच्नुअघि नीतिगत रुपमा सबै तयारी पूरा हुनेछ । नेपालमा हाल २२ सय मेगावाट हाराहारीमा विद्युत उत्पादन क्षमता भएपनि हिउँदमा भने भारतमै निर्भर हुनुपर्ने अवस्था छ । भारतसँग आगामी फागुनमा क्रस बोर्डर ट्रान्समिसन लाईन निर्माणबारे पनि छलफल हुने ऊर्जा सचिव घिमिरेले जानकारी दिनुभयो । 


प्रतिक्रिया