भारतीय अभिनेता दिलीप कुमारको निधन

असार २३, २०७८ | काठमाडौं

बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बईस्थित हिन्दुजा अस्पताललाई उद्धृत गर्दै बीबीसी हिन्दीले दिलीप कुमारको निधन भएको पुष्टि गरेको छ । उनको आज बिहान साढे ७ बजे उनको निधन भएको हो । 

दिलीप कुमारको आधिकारिक ट्वीट ह्यान्डलबाट पनि उनको निधन भएको जानकारी दिइएको छ । कुमारका पारिवारिक मित्र फैसल फारुकीका तर्फबाट सो जानकारी दिइएको हो । दिलीप कुमारको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै सांस्कृतिक क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि दिलीप कुमारलाई जुन ६ मा अस्पताल भर्ना गरिएको थियो । 

‘ट्रेजेडी किंग’ का रुपमा परिचित दिलीप कुमारले ‘मुगले आजम’, ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’, ‘गंगा–जमुना’, ‘सौदागर’ जस्ता हिट चलचित्रमा अभिनय गरेका छन् । उनी सन् १९९८ मा पछिल्लो पटक ‘किला’ चलचित्रमा देखिएका थिए । उनलाई सन् १९९१ मा भारत सरकारले पद्मभूषण र सन् २०१६ भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरिएको थियो । 

त्यस्तै उनले सन् १९९५ मा दादा साहब फाल्के पुरस्कार प्राप्त गरेका थिए । सन् १९९७ मा उनलाई पाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो । यो सम्मान स्वीकार गर्नका लागि उनले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिएका थिए ।


प्रतिक्रिया