लोकप्रिय कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा

रेडियो कान्तिपुर संवाददाता

आश्विन २५, २०७८ | काठमाडौं

लोकप्रिय कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । गजुरेल र मन्जु पोखरेल वैवाहिक सम्बन्धमा जोडिएको जानकारी उनले सामाजिक संजालमार्फत गराएका हुन् । उनका अनुसार पोखरेल न्याय सेवाकी अधिकृत हुन् । गजुरेल र पोखरेलबीच डोलेश्वर मन्दिरमा परिवारको उपस्थितिमा विवाह भएको हो । गजुरेलले विवाहबारे भनेका छन्–‘नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसाग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्तत: सहयात्रा गर्ने निर्णयमा पुग्यौं’ । पहिलो विवाह चार वर्ष अघि कानूनी रुपमा टुङ्ग्याएपछि गजुरेलले अर्को विवाह गरेका हुन् ।

फेसबुक पेजमार्फत् उनले आफ्नो विवाहबारे अनावश्यक रुपमा नलेख्न आग्रह समेत गरेका छन् । उनले भने– 'सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ, कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।'


प्रतिक्रिया