बलात्कृत महिलामाथि आगजनी गरी हत्या प्रयास

मंसिर १९, २०७६

भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा बलात्कृत एक महिलामाथि आगजनी गरी हत्या प्रयास भएको छ । बलात्कार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत जाने क्रममा २३ वर्षीया ती महिलामाथि आगजनी भएको हो ।

उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ । गत मार्चमा आफूमाथि बलात्कार भएको भन्दै उनले २ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

सोही मुद्दाको सुनुवाईका लागि अदालत जान रेल स्टेशन जाँदै गर्दा बाटोमा एउटा समुहले उनीमाथि दुर्व्यवहार गर्दै जबरजस्ती नजिकैको मैदानमा लगेर आगो लगाएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

आगजनी गरेको आशंकामा प्रहरीले बलात्कारमा संलग्न भएको आरोप लागेका व्यक्ति सहित ५ जनालाई पक्राउ गरेको छ । 

हालै मात्रै उन्नावमै एक महिला पशु चिकित्सकको बलात्कारपछि आगो लगाएर हत्या भएको थियो । त्यसलगत्तै अर्की एक महिलामाथि समेत बलात्कार भएको र उनलाई मार्ने प्रयास भएको थियो । उन्नावमा लगातार जस्तो बलात्कार र हत्याको घटना भएपछि ठूलो संख्यामा सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका छन् । 


प्रतिक्रिया