भारतका प्रधानमन्त्री मोदीलाई क्लिन चिट

मंसिर २५, २०७६

भारतमा सन् २००२ मा भएको गुजरात दंगाको छानबिनका लाग गठित नानावटी आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सफाई दिएको छ । दंगाको समय मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो । सो समय गुजरातको सरकारमा रहेका मन्त्रीहरुले समेत सफाई पाएका छन् । 

गुजरातको विधानसभामा बुधबार नानावटी आयोगको प्रतिवेदन पेश गरिएको छ । यो प्रतिवेदन ५ वर्षअघि नै राज्य सरकार समक्ष पेश गरिएपनि विधान सभामा भने पहिलो पटक आज प्रस्तुत गरिएको हो । प्रतिवेदनमा सो दंगा पूर्व नियोजित नरहेको दाबी गरिएको छ ।

 करीब ३ हजार पृष्ठको प्रतिवेदनमा तीन प्रहरी अधिकारीको भूमिका माथि भने प्रश्न उठाउँदै छानबिनका लागि सिफारिस गरिएको छ । गुजरातमा सन् २००२ मा भड्किएको साम्प्रदायीक हिंसामा १ हजार ४४ जनाको मृत्यु भएको थियो, जसमध्ये ७ सय ९० मुस्लिम र २ सय ५४ हिन्दू थिए ।

 घटनालगत्तै छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश जीटी नानावटी र गुजरात उच्च अदालतका पूर्व न्यायाधीश अक्षय मेहता सम्मिलित समिति गठन गरिएको थियो । सो दंगा मामिलामा अदालतले ४ सय ५० बढीलाई दोषी ठहर गरेको थियो ।  


प्रतिक्रिया