आफूमाथि लगाइएको आरोप निराधार : आङ साङ सूची

मंसिर २५, २०७६

अल्पसंख्यक रोहिंग्या मुस्लिममाथि नरसंहारको आरोपको म्यानमारकी नेतृ आङ साङ सूचीले खण्डन गर्नुभएको छ । नेदरल्याण्ड्स्को हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अपराध अदालतमा नरसंहार सम्बन्धी मुद्दाको सुनुवाईका लागि उपस्थित सूचीले सबै आरोप निराधार रहेको दाबी गर्नुभएको हो । 

नोबेल शान्ति पुरस्कार विजेता समेत रहेकी सूचीले म्यानमार विरुद्धको मुद्दा अपूर्ण र गलत भएको बताउनुभयो । रखाईन राज्यमा देखा परेको समस्या लामो समयदेखिको भएको उहाँको दाबी थियो ।

सन् २०१७ मा रखाईन राज्यमा सरकारी सेनाले गरेको कारवाहीमा ७ हजार जनाको मृत्यु भएको थियो भने ७ लाख बढी विस्थापित भएका छन् । म्यानमार सरकारको सो कदम विरुद्ध अफ्रिकी मुलुक गाम्बियाले मुद्दा दायर गरेको हो । म्यानमारले भने रखाईन राज्यमा रहेका अतिवादी विरुद्ध मात्र कारबाही गरेको र रोहिंग्या लडाकुले सरकारी सुरक्षा चौकीमा आक्रमण गरेपछि मात्रै आन्तरिक द्वन्द्व सुरु भएको दाबी गर्दै आएको छ ।

सूची पनि सोही अडानमा कायम रहेको बीबीसीले उल्लेख गरेको छ । छिटपुट घटनामा कुनै सैनिकले जबरजस्ती वल प्रयोग गरेको हुनसक्ने भन्दै सूचीले युद्ध अपराधमा संलग्नमाथि कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

द्वन्द्वका कारण विस्थापित भएकालाई पुनस्र्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचीले द्वन्द्व बढाउने गरी कुनै कदम नचाल्न अदालत समक्ष आग्रह गर्नुभयो ।  


प्रतिक्रिया