विश्वकै ठूलो विमान निर्माता कम्पनी बोईङ चरम आर्थिक संकटमा

माघ १, २०७६ | काठमाडौं

अमेरिकी विमान निर्माता कम्पनी बोइङले दुई दशकयताकै ठूलो आर्थिक संकट खेपेको छ । ७३७ म्याक्स मोडेलको विमानमा खराबी भेटिएपछि उसको वार्षिक कारोबार यो आर्थिक वर्षमा हालसम्मकै न्यून माग आएको बोइङले जनाएको छ । 

विमानको वितरण पनि ११ वर्षयताकै न्यून छ । योसँगै बोईङ अब विश्वकै सबैभन्दा ठूलो विमान निर्माता कम्पनी नरहेको बीबीसीले उल्लेख गरेको छ । 

बोइङ र युरोपेली कम्पनी एयरबसबीच तीब्र प्रतिस्पर्धामा रहँदै आएको थियो । 

गत मार्चयता बोईङको ७३७ म्याक्स मोडेलका २ वटा विमान दुर्घटना भई ३ सय ४६ जनाको मृत्यु भएपछि सो मोडेलको विमान हाल ग्राउण्डेड छ । 

दुर्घटनाका कारण सन् २०१९ मा ५४ वटा विमानको मात्र माग भएको कम्पनीले जनाएको छ । जबकी अघिल्लो वर्ष सो संख्या ८ सय ९३ थियो । 

यस्तै, वितरण पनि ५३ प्रतिशतले घटेर ३ सय ८० वटा मात्र भएको छ, जुन सन् २००७ यताकै न्यून हो । सो कम्पनीले गत महिनादेखि उत्पादन नै रोकेको छ । 


प्रतिक्रिया