चीनमा देखिएको कोरोना भाइरस विश्वभर फैलन सक्ने डब्लुएचओको चेतावनी

माघ १, २०७६ | काठमाडौं

चीनमा देखिएको अनौठो किसिमको निमोनिया फैलाउने कोरोना भाइरस भयावह रुपमा विश्वभर फैलन सक्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिएको छ । 

मानिसबाट मानिसमा सर्ने सो भाइरस विश्वव्यापी रुपमा फैलन सक्ने डब्लुएचओले जनाएको हो । सो भाइरसबाट सामान्य रुघाखोकीदेखि सार्सजस्तो जटिल संक्रमणसम्म हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

उहान प्रान्तमा मात्र देखिएको सो संक्रमण चीनवाहिर पहिलोपटक थाईल्याण्डमा एक महिलामा पनि देखिएको छ । 

उनको विशेष निगरानीमा उपचार भइरहेको छ । उहान राज्यका ४१ जनामा सो संक्रमण देखिएको छ । १ जनाको मृत्यु भइसकेको छ । नयाँ संक्रमित भने फेला परेका छैनन् । 

विश्व स्वास्थ्य संगठनको नयाँ रोग विभागकी कार्यकारी प्रमुख मारिया भान केर्खोभले यो संक्रमण विशेषगरी परिवारभित्रै सर्ने गरेको भएपनि अहिले शुरुवाती अवस्थामै रहेकाले स्पष्ट चित्र बनिनसकेको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघका अधिकारीले विश्वका अस्पतालहरुलाई सो संक्रमण विरुद्ध उपचारका लागि तयार रहन समेत निर्देशन दिइसकेको रोयटर्सले जनाएको छ । 


प्रतिक्रिया