सेप्सिसको संक्रमणले विश्वभर भयावह रुप लियो

माघ ३, २०७६ | काठमाडौं

रगत विषाक्त भएर हुने सेप्सिसको संक्रमणले विश्वभर भयावह रुप लिएको एक अध्ययनले देखाएको छ । विश्वभर हुने प्रत्येक ५ मृत्युमध्ये १ जनाको मृत्युको कारण सेप्सिस रहेको तथ्य सार्वजनिक भएको छ । 

सो प्रतिवेदन अनुसार सेप्सिसका कारण विश्वभर वार्षिक १ करोड १० लाख मानिसको मृत्यु हुने गरेको छ । जुन संख्या क्यान्सरबाट हुने मृत्युभन्दा बढी हो । 

वासिङ्गटन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले सेप्सिस संक्रमितको संख्या अनुमान गरिएको भन्दा दोब्बर पाइएको छ । 

१ सय ९५ मुलुकमा गरिएको पछिल्लो अध्ययनले वर्षमा सेप्सिसका ४ करोड ९० लाख संक्रमित फेला परेको देखाएको छ । 

यसअघि सो संख्या १ करोड ९० लाख रहेको अनुमान गरिएको थियो । अधिकांश संक्रमित न्यून तथा मध्य आय भएका मुलुकको रहेको भएपछि विकसित मुलुकहरुमा पनि यो संक्रमण बढेको अध्ययनले देखाएको छ ।

पहिचान गर्न निकै कठिन हुने भएकाले यसलाई हिडन किलर पनि भनिन्छ । 

सेप्सिस संक्रमितको रोग प्रतिरोधात्मक प्रणाली बढी सक्रिय हुने भएकाले यसले रोग वा संक्रमण विरुद्ध मात्र नभई शरीरकै विभिन्न अंगमाथि समेत आक्रमण गर्ने गर्दछ । जसले गर्दा शरीरका अंगले काम गर्न छोडी मानिसको मृत्युसम्म हुन्छ । 

संक्रमित जीवितै रहेको खण्डमा पनि अङ्गभङ्ग हुने तथा दीर्घकालीन क्षति पुर्‍याउने सम्भावना अधिक हुने अनुसन्धानकर्ताहरु बताउँछन् । 

झाडापखालाको संक्रमण तथा फोक्सो सम्बन्धी रोगको कारक ब्याक्टेरिया र भाइरसले नै सेप्सिस फैलाउने अध्ययनमा उल्लेख छ ।  


प्रतिक्रिया