भारतमा शिशु मृत्युदर भयावह बन्दै

माघ ६, २०७६ | भारत


भारतको राजस्थानमा शिशु मृत्युदर भयावह अवस्थामा रहेको स्वास्थ्य अधिकारीले बताएका छन् । भारतको उत्तरी क्षेत्रस्थित सो राज्यमा जन्मने एक सय शिशुमध्ये ५ जनाको जन्मेको ५ वर्षभित्रै मृत्यु हुने गरेको पाइएको हो । कोटा शहरस्थित एक अस्पतालको आंकडालाई लिएर गरिएको सर्वेक्षणमा गत एक वर्षमा मृत्यु हुने शिशुको संख्या ९ सय ६३ रहेको छ । सन् २०१८ मा सो संख्या एक हजार ५ रहेको थियो ।

सरकारले शिशु मत्युदरलाई कम गर्ने लक्ष्य राखेपनि त्यसमा खासै राम्रो योजना ल्याउन नसकेको स्वास्थ्य सरोकारवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । शिशु मृत्युदर राजस्थानमा मात्रै नभई भारतभरि नै डरलाग्दो स्थितिमा रहेको उनीहरुको भनाई छ । पछिल्लो एक महिनामा मात्रै अर्को राज्य गुजरातको एक अस्पतालमा विभिन्न कारणले एक सय जना बालबालिकाको मृत्यु भएको थियो । 

गत वर्षको जुन महिनामा बिहारमा एक्यूट इन्सेफलाइटिसको कारण १ सय ५० बालबालिकाको मृत्यु भएको थियो । नेशनल फेमिली हेल्थ सर्वे २०१५ /१६ को अनुसार भारतमा नवजात शिशु मृत्युदर ३० प्रतिशत रहेको छ । ५ वर्ष भन्दा कम उमेरमा मृत्यु हुने बालबालिकाको संख्या ४१ प्रतिशत रहेको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क विश्षेण गर्दा ५ वर्ष भन्दा कम उमेरमा मरेका शिशुमध्ये पनि बालिकाको मृत्युदर बढी रहेको छ । बालिकाको मृत्युदर ४१ प्रतिशत रहेकोमा बालकको मृत्युदर ३७ प्रतिशत रहेको छ । सरकारले आंकडा गणना गर्ने बाहेक अन्य काम नगरेको सरोकारवाको आरोप छ । 


प्रतिक्रिया