कुनै विकल्प नरहेकाले शाही बिरासत छोड्ने कठोर निर्णय : ह्यारी

माघ ६, २०७६ | काठमाडौं

शाही पदवी त्यागेका बेलायतका राजकुमार ह्यारीले कुनै विकल्प नरहेकाले कठोर निर्णय लिएको बताउनुभएको छ । 

शाही सदस्यको जिम्मेवारीबाट मुक्त भएप्छि पहिलोपटक सार्वजनिक मन्तब्य राख्दै ह्यारीले सो निर्णयप्रति दु:ख लागेपनि त्यस बाहेक कुनै विकल्प आफूसँग बाँकी नरहेको बताउनुभयो । 

थप शान्तिपूर्ण जीवनको खोजीमा आफूले बाल्यकालदेखि नै जानेको परिवार र शाही बिरासत छोड्ने निर्णय लिएको उहाँले उल्लेख गर्नुभयो । 

यद्यपि, हजुरआमा महारानी एलिजावेथ र शाही परिवारप्रति आफ्नो सदैव उच्च सम्मान रहने उहाँको भनाई थियो । 

लामो छलफलपछि चुनौतीपूर्ण निर्णयमा पुगिएको भन्दै ह्यारीले बेलायत आफ्नो घर भएको र त्यो कहिल्यै परिवर्तन नहुने बताउनुभयो । 

आफू र आफ्नी श्रीमतीले कुनै कोषको प्रयोग नगरी स्वतन्त्र रुपमा महारानीका लागि काम गर्ने विश्वास लिएपनि त्यो हुन नसकेको ह्यारीले उल्लेख गर्नभयो ।

यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए । 

बकिङ्घम दरबारले पनि राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले कोषबाट आउने रकम समेत नपाउने घोषणा गरी सकेको छ ।


प्रतिक्रिया