चीनद्वारा ३ विदेशी पत्रकारलाई देशनिकाला

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ७, २०७६ | एजेन्सी

चीनमा फैलिरहेको कोरोना संक्रमणबारे विभेदकारी समाचार छापेको आरोप लगाउदै चीन सरकारले ३ विदेशी पत्रकारलाई देशनिकाला गर्ने भएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलका ३ पत्रकारलाई तत्काल मुलुक छोड्न चीनले आदेश दिएको हो । 

चीनले ती पत्रकारको नाम सार्वजनिक नगरेपनि उनीहरु अमेरिकी नागरिक जोश चीन, चाओ डेङ र अष्ट्रेलियाका फिलिप वेन रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ । उनीहरुलाई चीन छोड्न ५ दिनको समय दिइएको छ ।

गत फेब्रुअरी ३ मा प्रकाशित लेखमा चीनलाई एसियाको वास्तविक बिरामीको संज्ञा दिदै संक्रमणबारेको शुरुवाती सूचना लुकाएको र चीनमाथिको विश्वव्यापी विश्वास गुमेको उल्लेख थियो । कोरोना नियन्त्रण गर्न चीन सरकारको प्रयासलाई नै असर पुर्‍याउने र चीनलाई अपमान गर्ने षड्यन्त्रले सो लेख प्रकाशित भएको चीनको आरोप छ । 

चीनले ती पत्रकारलाई देशनिकाला गर्ने निर्णय गर्नुअघि माफी माग्न भनेको थियो । तर सो पत्रिकाले अस्वीकार गरेपछि थप कदम चालेको चीनको विदेशमन्त्रालयले जनाएको छ । चीनमाथि आक्रमण गर्ने र विभेदकारी समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमलाई चिनियाँ नागरिकले स्वागत नगर्ने चीनको विदेशमन्त्रालयका प्रबक्ता गेङ शुवाङले बताउनुभयो । 


प्रतिक्रिया